सरकारको मूल्यांकन : घोडाको मूल्य तीन हजार, गाईको १५ सय



कास्की  । गत वर्षको हिउँद याममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई ४९ लाख २२ हजार ५० रुपैयाँ राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए। हिमपातले कृषकका भेँडा, च्याङ्ग्रा, याक, घोडालगायत घरपालुवा पशु चौपायको क्षति हुँदा कृषक पीडित बनेका थिए।

मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुखसहितको टोलीले कृषकलाई राहत वितरण गरेको थियो। मन्त्रालयले क्षति भएको चौँरी गाई ठूलो प्रतिगोटा चार हजारँ, घोडा तीन हजार, गाई एक हजार ५०० तथा च्याङग्रा, भेडा, बाख्राको ९५० रुपैयाँका दरले राहत वितरण गरेको दवाडीले जानकारी दिए।

हिमपातले जिल्लामा सबैभन्दा बढी लोमान्था लोमान्थाङ गाउँपालिकामा क्षति पु¥याएको थियो। यहाँका २११ कृषकका दुई हजार ७६६ पशु चौपाया हिमपात र चिसोबाट मरेकाले उनीहरुलाई २८ लाख ९९ हजार ८५० राहत रुपैयाँ वितरण गरिएको छ।

त्यस्तै, थासाङ गाउँपालिकामा ७३ कृषकको ५८० पशु चौपाया क्षति भएकोमा पाँच लाख ९३ हजार ८५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १३ कृषकलाई एक लाख ३३ हजार ५००, दामोदरकुण्ड गाउँपालिकामा ४८ कृषकलाई छ लाख ७५ हजार ७५० तथा घरपझोङ गाउँपालिकामा ३२ कृषकलाई छ लाख १९ हजार १०० रुपैयाँ राहत वितरण गरिएको मन्त्री थापाले जानकारी दिए। हिमपातले जिल्लाका ३७७ कृषक पीडित बनेका थिए।

सम्बन्धित समाचार