विद्यालय दिउँसो चलाउन अटेर



बागलुङ ।   बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । 

नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । संस्थागततर्फ १० बढी विद्यालयले बिहानी कक्षा चलाइरहेका छन् । शिक्षा विभागले पनि तीन वर्षअघि नै विद्यालय तहका सबै कक्षा दिउँसो चलाउन निर्देशन दिएको थियो । विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो ।

तीन वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् । बागलुङ नगरसभाले पनि विद्यालय शिक्षाका सबै कक्षा दिउँसो सञ्चालन गर्ने गरी नीति पारित गरेको छ । दिउँसोको कक्षाले शिक्षण सिकाइमा सुधार आउने उपसचिव शर्माको भनाइ छ ।

“बिहानमा शिक्षकले कक्षा नै थोरै समय लिने समस्या छ”, उहाँले भन्नुभयो, “शिक्षक, विद्यार्थीलाई धपेडी हुने, थाक्ने पनि हुन्छ ।” बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालय र क्याम्पसमा अध्यापन गर्छन् । बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन् । केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका छैनन् । कक्षा ११ दिउँसो सञ्चालन गर्ने तयारी भइरहेको विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले बताउनुभयो ।

“हाम्रोमा पाँच शङ्कायको पढाइ हुन्छ”, उहाँले भन्नुभयो, “तत्काल सबै कक्षा दिउँसो सार्न सम्भव छैन, विस्तारै शुरु हुन्छ ।” उहाँले संस्थागत विद्यालयलाई पनि दिउँसो कक्षा सञ्चालनका लागि कडाइ गर्नुपर्ने बताउनुभयो । संस्थागत विद्यालयले अहिले बिहानी सत्रमै धमाधम भर्ना लिइरहेका छन् ।

सम्बन्धित समाचार