सर्पले डसेपछि सर्प संगै अस्पतालमा



विराटनगर । सुन्दर हरैंचाका १६ महिने दीपचन राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्याएर रोए । लगत्तै उनका बाबा भोला पुग्दा बालकसँगै सर्पको बच्चा देखे ।

बालकको गोलीगाँठाबाट रगत बगिरहेको थियो । भोलाले खुट्टामा केही माथि कपडाले बाँधिदिए अनि सर्प मारे । छोरालाई उपचारका लागि कोसी अन्चल अस्पताल पुर्‍याउँदा उनले सर्प पनि सँगै लगेका थिए ।

आकस्मिक कक्षमा वार्ड इन्चार्ज रघुनन्दन अधिकारीले सर्प हेरेपछि गोमन रहेछ भन्दै बालकलाई एन्टिस्नेक भेनम(एएसफी) चढाउन सहकर्मीलाई सुझाए ।

मोरङकै कर्सियाकी उषा रायलाई शुक्रबार विहान सुतेकै ठाउँमा करेतले डसेपछि कोसी अन्चल अस्पताल भर्ना भएकी छन् । ‘निन्द्रामै थिएँ । अचानक पाखुरामा कसैले चिमोटेजस्तो भयो’, उनले भनिन्, ‘उठेर हेर्दा हात दुखेको ठाउँमा रगत निस्केको र ओछ्यानमा करेत सर्प देखेपछि अस्पताल आएँ ।’

उषालाई शुक्रबार मध्यान्न सम्ममा दुई भाइल एन्टिस्नेक भेनम दिइएको छ । बाडीपछिको एकसातामा सर्पले डसेर २ सयभन्दा बढी व्यक्ति अस्पताल भर्ना भइसकेका छन् ।

सम्बन्धित समाचार