भोजपुरमा वर्षाका कारण पहिरोले १ सय घरपरिवार विस्थापित



भोजपुर । भोजपुरमा पहिरोबाट १ सय घरपरिवार विस्थापित भएका छन् । गएको हप्ता परेको लगातारको वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् ।

भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकाका २६, पौवादुङ्मा गाउँपालिकाका २, आम्चोक गाउँपालिकाका ४४, रामप्रसादराई गाउँपालिकाका ९, अरुण गाउँपालिकाका १, हतुवागढी गाउँपालिकाका ३ र साल्पासिलिछो गाउँपालिकाका १२ घर परिवार विस्थापित भएका हुन् । त्यस्तै जिल्लाका विभिन्न पालिकामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते छन् । पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बबताए । क्षतिको विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले निस्शुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिइने भएको छ । बाढी पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने बाध्यता भएमा विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेकोमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

सम्बन्धित समाचार