माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा



काठमाडौं । शनिबार मध्यराति काठमाडौंको काँडाघारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ।  २०७५ फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराउँदा लमजुङका सिंहबहादुर गुरुङको ज्यान गएको घटनामा लामाविरुद्ध पनि मुद्दा चलाइने भएको छ।

जिल्ला अदालत लतिलपुरमा यसअघि नै दर्ता भएको बम विस्फोट र कर्तब्य ज्यान मुद्दामै लामाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले यसअघि नै दर्ता भइसकेको मुद्दामा लामालाई पनि म्याद थपेर कारबाही अघि बढाइने बताए ।

विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ  एनसेलमा बम विस्फोटन प्रकरणमा प्रहरीले यसअघि विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई यही मुद्दा चलाएर नख्खु जेलमा चलान गरिसकेको छ । हेमन्तप्रकाशविरुद्ध प्रहरीले घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा पनि प्रतिवादी बनाएर मुद्दा अघि बढाएको छ।

विप्लवको उपत्यका इन्चार्ज भएकाले प्रहरीले लामालाई नख्खु, घट्टेकुलो र सुकेधारा विस्फोटका प्रमुख योजनाकार मानेको छ । तर नख्खुमा बम विस्फोटको जिम्मेवारी भने हाल जेलमा रहेका वलीले लिएका थिए।  नख्खु विस्फोटपछि उक्त घटनामा संलग्न भएका अभियोगमा पक्राउ परेका सुदर्शनसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार र वीरबहादुर कठायत जेलमा छन्।  फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङले ज्यान गुमाएका थिए।

घट्टेकुलो र सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए। जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।   घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो। प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए। पक्राउ परेकाले लामाको नाम लिएका थिए।  पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ हो।

सम्बन्धित समाचार