नागढुङ्गाबाट दुई किलो सुनसहित एक पक्राउ



काठमाडौँ । प्रहरीले नागढुङ्गाबाट दुई किलो सुनसहित एकजनाई पक्राउ गरेको छ। भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख ६५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् ।

कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए।  विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् ।

 तामाङलाई आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।  गाँजा बरामद काठमाडौँ महानगरपालिका-९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउसबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोली देखेपछि भागेका व्यक्तिले छाडेको तीन किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

करिब ३५ वर्षीय पुरुषलाई उक्त लागुऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएका छन्। उनको खोजीसँगै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।  यसैबीच काठमाडौँको तारकेश्वर नगरपालिका-१ स्थित पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेका त्यही ठाउँ बस्ने उदयपुरका विष्णु सुनुवारको छोरा १२ वर्षीय सुरज सुनुवारको शव फेला परेको छ।

सम्बन्धित समाचार