जनप्रतिनिधिले नातेदारलाई जागिर दिएको भन्दै वडावासी आन्दोलित



तनहुँ । जनप्रतिनिधिले छोरीलाई जागिर खुवाउनका लागि प्रक्रिया विपरीत कर्मचारी छनोट गरेको भन्दै शुक्लागण्डकी नगरपालिका ७ का वडावासी विरोधमा उत्रिएका छन्।

वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक महिना अघि पहुँचका आधारमा जनप्रतिनिधिकी छोरीलाई कार्यालय सहयोगी राखेको वडावासीले आरोप लगाएका छन्। शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्य विष्णुमाया ढकालको विवाहित छोरीलाई जागिरमा राखिएपछि स्थानीय असन्तुष्ट बनेका हुन्।

उनीहरूले आफ्नै वडाको आर्थिक तथा सामाजिक रुपमा विपन्न वर्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। वडावासीले वडाध्यक्षकै मिलेमतोमा कार्यपालिका सदस्य ढकालकी कास्की जिल्लामा विवाह भइ गएकी छोरीलाई जागिर दिइएकोमा असन्तुष्टि जनाएका हुन्।

बगैंचा टोल विकास समितिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ भुजेलले नेताको छोरीलाई जागिर दिनको लागि विना प्रतिस्पर्धा सुटुक्क राखिएको आरोप लगाइन्। भुजेलले निर्णय सच्याउनका लागि गरेको पटक पटकको आग्रहलाई वडाध्यक्षले टार्न खोजेको बताइन्। कर्मचारी राखिएको विषयमा सोमबार वडा कार्यालयमा छलफल गरिएको छ।

काउरे टोल विकास समितिका अध्यक्ष खिमलाल गिरी, स्थानीय विमल जिसी लगायतकाले वडाध्यक्ष र कार्यपालिका सदस्य ढकालले जनताको भावना विपरीत उनीहरूले वडाले गर्ने विभिन्न कार्यक्रम तथा निर्णय पारदर्शी नभएको भन्दै असन्तुष्टि समेत ब्यक्त गरेका थिए।  विरोध कार्यक्रममा सोही वडाकी मनसरा विकले वडाले सक्षम र पहुँच हुनेलाई मात्र अवसर दिदाँ आफूहरू जस्ता व्यक्ति सधै पछाडिको पछाडि रहेको भन्दै वडाले तल्लो तहमा रहेको व्यक्तिहरूको आवश्यकतालाई ध्यान दिन आग्रह गरिन्।

वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले डोर हाजिरमा एक महिनाको लागि मात्रै कर्मचारी राखिएको उल्लेख गर्दै वडाबासीको भावनामाथि खेलवाड गर्ने नियत आफूहरूको नभएको बताए। हतारमा गरिएको कामको परिणाम नकरात्मक भएको भन्दै कर्मचारी नियुक्तिको विवादलाई समाधान गर्ने प्रयासमा रहेको उनले जानकारी दिए।

कार्यक्रममा बोल्दै वडासदस्यहरू किसान गुरुङ र गिरबहादुर थापाले समेत कर्मचारी नियुक्तिका विषयमा आफूहरूसँग कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाए। उनीहरूले सोमबार नै बस्ने वडाको बैठकमार्फत वडावासीको असन्तुष्टि र उत्पन्न विवादलाई समाधान गर्ने समेत उनले बताए।

सम्बन्धित समाचार