तेजरत्नमा अत्याधुनिक मेसिनबाट आँखा परिक्षण



आधुनिक उपकरणबाट आँखाको परिक्षण गर्दै उपचार केन्द्रका स्वास्थ्यकर्मी ।

सङ्खुवासभा । करिव डेढ दशक अघिदेखि खाँदबारीमा सेवा सुरु गरेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा पछिल्लो समय अत्याधुनिक उपकरणहरुबाट आँखाको परिक्षण सुरु गरिएको छ । आँखा जाँच्ने पछिल्लो मोडलका आधुनिक उपकरणहरु भित्राएर केन्द्रले नागरिकहरुको आँखा परिक्षण गर्न थालेको हो ।

प्रदेश एक सरकार र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा आँखाको प्रेसर, पावर र चस्माको पावर जाँच्ने उपकरण खरिद गरिएको क्लीनिक ईञ्चार्ज छितिज बरालले जानकारी दिनुभयो । यस अघि उक्त उपकरणहरु विना नै आँखाको परिक्षण गर्नु परेको थियो । डिजिटल उपकरण नहुँदा परिक्षण झण्झिटिलो भएको स्मरण गर्नुहुँदै ईञ्चार्ज बरालले अहिले डिजिटल मेसिनले छोटो समयमा सहज तरिकाले प्रभावकारी सेवा दिन सकिएको जानकारी दिनुभयो । यस अघि आँखाको प्रेसर नाप्न नानीमा छुनु पथ्र्यो भने अहिले अलगैबाट नाप्न सकिने उहाँले जानकारी दिनुभयो ।

उक्त उपकरणहरु जडानको लागि प्रदेश सरकारले दश लाख र सेवा फाउण्डेशन नामक संस्थाले ११ लाख रुपैयाँ प्रदान गरेको थियो । प्रदेश र फाउण्डेशनबाट बजेट पाए लगत्तै उपकरण खरिद गरेर सेवा सुचारु गरिएको उपचार केन्द्र सञ्चालक नेपाल नेत्र ज्योति संघ सङ्खुवासभाका अध्यक्ष श्याम सुन्दर उदासले जानकारी दिनुभयो ।

केन्द्रमा दैनिक औषत ३० जना आँखाको परिक्षण गर्न आउने गरेको केन्द्रको तथ्याङ्कमा छ । केन्द्रले बाहिरबाट चिकित्सक ल्याएर महिनामा एक पटक सल्यकृया सहितको शिविर राख्दै आएको छ । केन्द्रले जिल्लाका विभिन्न स्थानमा आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार