डोटीको एकै परिवारका ६ सैनिक, एक सशस्त्र



काठमाडौं । डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र बासुदेवी जैशी खुसी हुनुका कारण हुन् – ७ सन्तान । त्यसमा पनि सबै सुरक्षा फौजमा सक्रिय रहेका कारण उनीहरूको खुसीको सीमा नै छैन ।

जैशीका ५ छोरा र एक छोरीले नेपाली सेनामा सेवा गरेका छन् भने एक जना सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नेपाली सेनामा कार्यरत मध्ये दुई जनाले अवकाश पाइसकेका छन् ।

जेठा टिकाराम र माइला धर्मराज ०५४ सालमा नेपाली सेनाको सैनिक पदमा भर्ना भएका थिए । टिकारामले ०७१ र धर्मराजले ०७० सालमा अवकाश लिए ।

सशस्त्रमा कार्यरत वरिष्ठ हवल्दार सहदेव जैशी

साइला छोरा सहदेव भने सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा बरिष्ठ हवल्दार पदमा कार्यरत छन् ।

‘सुरक्षा सेवामा लागेर देशका लागि काम गर्नुपर्छ भन्ने आत्मबलका कारण परिवारका सबै सदस्य सुरक्षा फौजमा लाग्यौं’, सहदेवले भने,‘अहिले हामी ५ जना कार्यरत नै छौं ।’

०५९ सालमा सशस्त्र प्रहरीमा छिरेका सहदेव भन्छन्,‘ग्रामिण बस्तीमा हुर्किएर सुरक्षा क्षेत्रमा सबैको सहभागीता भएको छ, यो खुसीको कुरा हो ।’

सहदेवपछिका छविलाल ०६१ सालमा नेपाली सेनामा भर्ती भ एभने उनी पछिका भाई भोजराज ०६८ सालमा भर्ती भए ।

दाजुभाईको सुरक्षा क्षेत्रको काम देखेर परिवारकी एक्ली बहिनीलाई पनि सेनाको जागिरले पुलकित बनायो । ‘हामीलाई देखेपछि बहिनीले पनि यहि जागिरमा जाने सोच बनाइछन्’, सहदेव थप्छन्,‘उनी पनि नेपाली सेनामा जवान पदमा छिन् ।’

सरिताकुमारी जैसी ०७२ सालमा सेनामा प्रवेश गरेकी थिइन् ।

उता परिवारका कान्छा छोरा, हरिष जैशी पनि ०७३ सालमा सेनामै प्रवेश गरे । जो, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत छन् ।

सम्बन्धित समाचार