नेपालले विषादीजन्य तरकारी रोक्दा भारतले औषधिजन्य वस्तुमा रोक लगायो



काठमाडौं । नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थालेपछि भारतले नेपालबाट निर्यात हुने जडिबुटीमा विभिन्न बहानामा रोक लगाएको छ ।

जनस्वास्थ्यमा नकारात्मक असर गर्ने विषादीजन्य तरकारी तथा फलफूल भित्रिन नदिन नेपालले कडाइ गर्दा भारतले भने औषधिजन्य जडिबुटीमा ‘प्रतिक्रिया’स्वरुप कडाइ गर्नु अनौठो मानिएको छ ।

भारतले पाखनवेद, चिराइतो, अमला, सिकाकाइलगायत ६० भन्दा बढी किसिमका जडिबुटीमा रोक लगाएको हो । भारतले संशोधित प्लान्ट क्वारेन्टाइनको सूचीमा नपरेको भन्दै ती जडिबुटीमा रोक लगाएको हो । भारतीय अवरोधका कारण १५ टनभन्दा बढी जडिबुटी नेपालका गोदाममा थन्किएका छन् ।

नेपालका जडिबुटीको मुख्य बजार भारत नै हो । भारतमा ती जडिबुटीबाट औषधी बनाइन्छ ।

त्यसो त, नेपालले तरकारी तथा फलफूलमा विषादी परीक्षणको निर्णय गर्नुअघि नै भारतले नेपालबाट निर्यात हुने जडिबुटीलाई भारतमा भित्रिन नदिन कडाइ गरिसकेको थियो । जडिबुटी निकासीमा भारतीय पक्षबाट भएको कडाइका विषयमा दुवै मुलुकबीच कुटनीतिक माध्यमबाट निकास खोज्ने पहल भइरहँदा नेपालले भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण थालेपछि यो विषय थन्किएको हो । हाल भारतले नेपालको पछिल्लो निर्णयकै ‘प्रतिक्रिया’स्वरुप जडिबुटीमा रोकसम्बन्धी निर्णय कडाइका साथ लागू गरिरहेको छ ।

यसै विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग छलफल गरेका छन् । उनले पूर्ववत अवस्थामा नेपाली जडिबुटीलाई भारत प्रवेश अनुमतिका लागि मुख्यमन्त्री आदित्यनाथको ध्यानाकर्षण गरेका थिए ।

बुधबार मुख्यमन्त्री निवासमा भएको भेटवार्तामा राजदूत आचार्यले ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री आदित्यनाथले यसबारे चाँडै समाधान निकाल्ने आश्वासन दिएको भारतीय दैनिक अखबार हिन्दूस्तान टाइम्सले जनाएको छ ।

मुख्यमन्त्री आदित्यनाथले अयोध्यादेखि जनकपुरसम्म ‘रामजानकी मार्ग’ विकसित गर्ने योजना अघि बढाइएको समेत बताएका छन् ।

सम्बन्धित समाचार