सिलिचोङको ठाउँठाउँमा पहिरो जादा लाखौको क्षति



सिलिचोङ ३ मागुवामा पहिरोले पुरेको खेत ।

ताम्कु । पहिरोको उच्च जोखिम क्षेत्रको रुपमा रहेको सिलिचोङ गाउँपालिकाको ठाउँ ठाउँमा पहिरो गएपछि लाखौको क्षति भएको छ । लगातार बर्षापछि ठाउँठाउँमा गएको पहिरोले लाखौ मुल्य बराबरको अन्न बालीमा क्षति पुराएको हो ।

साउन तीन गते सिलिचोङ १ को मुस्तेनमा पहिरो जादा राजकुमार राईको बालीमा क्षति पुगेको छ । करिब एक रोपनी क्षेत्रफलमा रोपिएको मकै, कोदा लगायतका बाली परिएर क्षति पुराएको छ । त्यसै गरि वडा नं. १ कै भिमसेन आधारभुत विद्यालयको पर्खाल पहिरोले भत्काएको छ । ढुंगा माटोले बनाएको पर्खाल करिव ९ मिटर भत्किदा करिव तीन लाख रुपैयाँको क्षति पुगेको सिलिचोङ गाउँपालिका प्रमुख एवं स्थानीय विपद ब्यवस्थापन समितिका संयोजक रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

त्यस्तै, गाउँपालिकाको ३ नम्बर वडामा पर्ने मागुवामा पहिरो जाँदा चिम्रे राईको खेत पुरिएको छ । खेत माथिबाट पहिरो झरेपछि करिव ५० मुरी फल्ने खेत पुरिएको हो । पहिरोले राईको घरमा पनि क्षति पुगेको छ । घर नजिकै रहेको दुई वटा माछा पोखरी पनि पहिरोले परिएपछि दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

यस्तै सिलिचोङ गाउँपालिकाकै वडा नम्बर ४ मांतेवाको नागदह कुलो पनि पहिरोले भत्काएको छ । लगातार पानी परिरहेकोले अझै क्षतिको बिवरण पुरा आईनसकेको गाउँपालिका प्रमुख कुलुङले जानकारी दिनुभयो । पहिरोले क्षति पुराएकाहरुलाई गाउँपालिका विपद ब्यवस्थापन कोषबाट राहत प्रदान गरिने कुलुङको भनाई छ । पहिरो पिडितहरुको लागि जिल्ला विपद ब्यवस्थापन समितिसँग पनि राहत माग गर्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार