लहरीको ठक्करबाट एक जनाको मृत्यु जोगवनी सीमाक्षेत्रमा तनाव



विराटनगर । औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएको लहरीको ठक्करबाट एक जनाको मृत्यु भएपछि विराटनगर–जोगवनी सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ।  विराटनगर महानगरपालिका–१५ रानीमा बिहीबार साँझ मोटरसाइकल चालक २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो।  एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै थिए।  घटनाको विरोधमा प्रदर्शन र तोडफोड भएको छ। स्थानीयले मोटरसाइकललाई ठक्कर दिने लहरीसहित १ दर्जनबढी सवारी साधनमा तोडफोड गरेका छन्। भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर स्थानीयले प्रदर्शन पनि गरेका छन्।  अहिले त्यस ठाउँमा सवारी साधन आवतजावतमा अवरोध भएको छ। मालसामान बोकेका कतिपय गाडीहरु भारतबाट नेपाल प्रवेश गर्न पाएका छैनन् भने विराटनगर भन्सार यार्डमा रहेका गाडीको जाँचपास रोकिएको छ।

मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीले ठक्कर दिँदा दुर्घटना भएको हो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ। दुर्घटनापछि लहरीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

स्थानीयले लहरी चालकलाई घटनास्थलमा उपस्थित गराउनु पर्ने, दोषीमाथि कारबाही हुनु पर्ने, लहरी लगायतका ठूला गाडीको ज्यादती बन्द हुनु पर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने माग गरेका छन्।  इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रदर्शनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार