खाँदबारी । यस बर्षको जनै पुर्णीमाको अवसरमा देशकै चर्चित शक्ति पिठ सभापोखरीमा रुद्राभिषेक गरिने भएको छ । श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना धाम संखुवासभाको आयोजनामा दुई दिन रुद्राभिषेक गरिने भएको हो ।
श्रीहरि लक्ष्मण गुरुको सत्संकल्पमा एक बर्ष भित्र अति रुद्री लगाउने क्रममा साउन २९ र ३० गते रुद्राभिषेक गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । रुद्राभिषेक गर्नको लागि १५ जना गुरुहरुको उपस्थिती रहने गुरुकुलका गुरु लक्ष्मण पोखरेलले जानकारी दिनुभयो । उक्त अभिषेकको लागि २५ गते नै त्यस तर्फ प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।
गुरुकुलको बार्षिक उत्सवको अवसरमा आगामी माघ महिनामा सम्पन्न गरिने १ सय ८ कुण्डमा बनस्पतिद्वारा कोटीहवन कार्यक्रमको लागि सभापोखरीबाट ननिभाई दियो ल्याउने कार्यक्रम रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । त्यहाँबाट ल्याईने दियोलाई गुरुकुलमा अखण्ड प्रज्वलन गराउने कार्यक्रम रहेको समते सम्मेलनमा जनाईएको थियो ।
कार्यक्रम सम्पन्न गर्नको लागि करिव पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएपनि चन्दा र भेटी संकलन नगरिने गुरु पोखरलले जानकारी दिनुभयो । यद्धपी, स्वतस्फुर्त रुपमा ईच्छुकले रुद्री पढाएर गुरुलाई दक्षिणा भने दिन सक्ने बताईएको छ ।
प्रतिक्रिया