लागुऔषध कारोबारमा संलग्न दुई प्रहरीसहित ४ जना धरानबाट पक्राउ



धरान । इलाका प्रहरी कार्यालय धरानले लागुऔषध कारोबारमा संलग्न दुई प्रहरीसहित ४ जनालाई धरानबाट पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा धरान १६ स्थित रंगशालाको प्याराफिटमा शंकास्पद अवस्थामा फेला धरान ८ का ३४ बर्षीय दिल कुमार लिम्बु र धरान १९ का ४० बर्षीय ओम बहादुर लिम्बु पक्राउ परेका छन् । यस्तै, मोरङको विराटनगर घर भएका प्रहरी जवान दिपककुमार तामाङ र सन्तोष तामाङ पक्राउ परेका छन् । प्रहरी कार्यलयका अनुसार शुरुमा रंगशालाबाट पक्राउ परेका ३ जनाको साथबाट स्पोस्मो प्रोक्सिभन आर प्लस २६४ क्याप्सुल र १३६ क्याप्सुल वरामद भएको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका ३ जनामाथि अनुसन्धान गर्दा अर्का प्रहरी जवान सन्तोषको पनि संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका प्रहरी जवान दिपक इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय धरानमा कार्यरत छन् भने अर्का प्रहरी जवान सन्तोष जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवा कार्यरत भएको खुलेको छ । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार