उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा हेलीबाटै खाद्यन्न



उदयपुर।  खाद्यन्न संटकग्रस्त क्षेत्र रहेको उदयपुर लिम्चुङबुङ गाउँपालिकामा खाद्यन्न पुगेको छ। खराव मौसमका कारण लिम्चुङबुङ खाद्यन्न ढुवानी गर्न नसकेको नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार खाद्यन्न पुर्‍याएको हो। गएको विहीबारै पहिलो पटक लिम्चुङबुङलाई खाद्यन्न बोकेर विराटनगरबाट उडान गरेको हेलिकोप्टर मौसम खरावका कारण लिम्चुङबुङको केन्द्र बाराहा अवतरण नभई ताप्ली गाँउपालिकाको केन्द्र रुपाटार पुगेको थियो।

उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का अनुसार बिहीबार दुई फलाइटमा ताप्ली गाउँपालिका र शुक्रबार दुई फलाइटमा लिम्चुङबुङ खाद्यन्न पुर्‍याएको छ।  सडकमार्गबाट खाद्यान्न लैजान सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत राहतस्वरुप दुई गाउँपालिकामा हेलीमार्फत खाद्यन्न पुर्‍याइएको छ। ताप्ली गाउँपालिकाको रुपाटारमा ३९ क्विन्टल चामल, ५७० केजी दाल, २५० केजी नुन र २५० लिटर खानेतेल शुक्रबार पुर्‍याइएको छ। त्यस्तै शुक्रबार लिम्चुङबुङ गाउँपालिकामा ४१ क्विन्टल चामल, २५० केजी दाल, १५० केजी नुन र १३० लिटर खानेतेल पुर्‍याइएको उदयपुरका जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले बताए।

खाद्यान्न अभाव भएपछि प्रदेश १ सरकारको सहयोगमा खाद्यन्न पुगेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। गाउँपालिका पुग्ने सडक पहिरोको कारण अवरुद्ध भएपछि उक्त गाउँपालिकामा खाद्यान्नको चरम अभाव भएपछि प्रदेश र संघीय सरकारको सहयोगमा खाद्यन्न हेलिकोप्टरमार्फत ढुवानी गरिएको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी उदयपुरका अध्यक्ष विनोद कटुवाल दिवसले जानकारी दिए।

वर्षाले क्षतविक्षत भएको सडकका कारण नाकाबन्दी लागेको दुई गाउँपालिकामा खाद्यन्न पुगेसँगै सडक मर्मतको काम सुरु हुने बताइएको छ। बेतेनी रुपाटार, माझखर्क सडक, गाइघाट लिम्चुङबुङ सडक क्षतविक्षत भएपछि खाद्यन्न संकट उत्पन्न भएको थियो।  बैशाख र जेठमा लामो खडेरीले मकै उत्पादन समेत शुन्य भएपछि उच्च पहाडी क्षेत्रमा पर्ने गाउँपालिका खाद्यन्नको मारमा परेका थिए।

सम्बन्धित समाचार