डाक्टर वा ईञ्जिनियर पढ्नेलाई सिलिचोङ गाउँपालिकाले छात्रबृत्ति दिने




सङ्खुवासभा । जिल्लाको अति दुर्गम मध्ये एक सिलिचोङ गाउँपालिकाले डाक्टर वा ईञ्जिनियर पढ्ने दुई विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ । गाउँपालिका भित्रको गरिव तथा जेहेन्दार एक छात्र र एक छात्रालाई जनहि पाँच लाख रुपैया छात्रबृत्ति दिने भएको हो ।

सिलिचोङ अति दुर्गम र पछाडि परेको क्षेत्र भएकोले आर्थिक अभावका कारण सक्षम विद्यार्थीहरु पढ्नबाट बञ्चित भएकोले यस आर्थिक बर्षदेखि छात्रबृत्ति प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । क्षमता भएपनि आर्थिक अभावकै कारण गाउँपालिका भित्र अहिलेसम्म एम्बिबिएस डाक्टर कोही नभएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । गाउँपालिकामा ईञ्जिनियरको संख्या पनि अति न्युन रहेको उहाँको भनाई छ ।

यसरी छात्रबृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीले पढाईपछि कम्तिमा दुई बर्ष सेवा सुविधा पाउने गरि गाउँपालिकामा काम गर्नुपर्ने प्रावधान रहेको गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिनुभयो । ‘छात्रबृत्ति पाउनेहरु पढिसकेर कम्तिमा दुई बर्ष गाउँपालिकामै काम गर्नु पर्नेछ, उनीहरुको सेवा सुविधा सरकारले दिनेछ’, कुलुङले भन्नुभयो । डाक्टर र ईञ्जिनियर पढ्न अधिक खर्च लाग्ने हुँदा गाउँपालिकाले दिने छात्रबृत्तिले उनीहरुलाई राहत पुग्ने कुलुङको दावी छ ।

आफ्नो गाउँपालिका भित्र सो विषय पढेकाहरु नभएकोले कर्मचारी अभाव झेल्नु परेकोले पनि उक्त विषय पढ्नेहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाको प्रबक्ता नरभुपाल राईले जानकारी दिनुभयो । ‘सरकारले कर्मचारी पठाउँदैन, गाउँपालिका आफैले राख्न खोज्दा दुर्गम भएकोले आउन मान्दैनन’्, राईले भन्नुभयो । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि पटक पटक पहल गरेपछि मात्र डाक्टर पाएको उहाँले अनुभव सुनाउनुभयो । यसरी बाहिरबाट ल्याईएको डाक्टर फर्किने टुंगो समेत नभएकोले आफैले डाक्टर उत्पादन गर्न खोजिएको राईको भनाई छ ।

गाउँपालिकाको तथ्याङ्क अनुसार सिलिचोङ गाउँपालिकामा एम्बिबिएस डाक्टर अहिलेसम्म छैन । पशु डाक्टर दुई जना छन् भने सवै विधाको गरि ईञ्जिनियरको संख्या ३ रहेको छ । गाउँपालिकाले उक्त विषय पढ्न प्रोत्साहन गरेपछि केही बर्षमा उक्त विषयको जनशक्तिहरु थपिने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार