नेपाली सेनाको आफ्नै प्याराग्लाइडिङ खेलाडी तयार



धरान । नेपाली सेनाको आफ्नै प्याराग्लाइडिङ खेलाडी तयार भएको छ । सेनाले पहिलो पटक सेवारत विभिन्न पदका २३ जनालाई प्याराग्लाइडिङ तालिम दिएर खेलाडी तयार गरेको हो । ती मध्ये ५ जना महिला हुन् । उदयपुरको बेलका नगरपालिकास्थित वोप्ताङमा १५ दिनसम्म उनीहरुलाई तालिम गराइएको थियो । शनिबार उनीहरुको तालिम सम्पन्न भएको छ ।

सेनाले एसियन प्याराग्लाइडिङ एकेडेमीमार्फत पहिलो पटक साहसिक प्याग्लाइडिङको बेसिक कोर्ष गराएको हो । आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ पनि समावेश गरिए पछि सेनाले आफ्नो खेलाडी तयार गरेको हो । आठौं खेलकुदमा पनि सेनाले सहभागिता जनाए पनि उसको आफ्नै खेलाडी भने थिएन । सेनाले सिभिल खेलाडी लिएर प्रतियोगितामा सहभागिता जनाएको थियो । ‘अब चै हाम्रो आफ्नै खेलाडी भएको छ,’पश्चिम पृतना शिक्षालय पोखराका प्रमुख एवं प्रमुख सेनानी अर्जुन बस्नेतले भने ।

एसियनका संस्थापक प्रिन्सिपल प्रकाश पोखरेलले बिगिनर्स कोर्षअन्र्तगत पि वान, पि टु र पि थ्री सकेको बताए । अब ती खेलाडीहरुलाई नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ(नेफा)बाट सोलो पाइलटको लाइसेन्स प्राप्त हुने पनि उनले बताए । नेपाली सेनाका खेलाडीहरुले खेलकुदमा सहभागी मात्र होइन, नेपाल भ्रमण बर्ष २०२० को प्रर्वद्धनमा पनि सहयोग गर्नेछन् । सरकारले भ्रमण बर्षमा प्याराग्लाइडिङको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिदै तथा विभिन्न डाँडाहरुबाट उडान परीक्षण गर्दै पर्यटन प्रर्वद्धन गर्ने प्रमुख सेनानी बस्नेतले बताए ।

सम्बन्धित समाचार