आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन



काठमाडौं । आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् ।

बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन् ।

यसै पर्वलाई बाबुको मुख हेर्ने पर्वको रुपमा पनि धुमधामसाथ मनाउने गरिन्छ ।

छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई फोनबाटै भए पनि सम्झने गर्दछन् ।

बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् । काठमाडौंको गोकर्णलगायतका तीर्थस्थलहरुमा पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लागेको छ ।

मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।

सम्बन्धित समाचार