धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले धरान क्युआरटी (QRT) विघटन गरी सुरक्षा विभाग गठन गर्ने आफ्नो निर्णयविरुद्ध प्रेस विज्ञप्ति जारी गर्ने नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरिने चेतावनी दिएका छन्।
साम्पाङको निर्णयविरुद्ध सोमबार क्युआरटी संयोजक ज्ञानु चाम्लिङसहित थप ३४ जनाको नाम समावेश गरी प्रेस विज्ञप्ति जारी गरिएको थियो। त्यसलगत्तै मंगलबार बिहान साम्पाङले लगातार दुईवटा फेसबुक पोस्ट गर्दै पार्टीको निर्देशनविपरीत गतिविधि गर्नेहरूमाथि कारबाही गरिने बताएका हुन्।
पहिलो पोस्टमा उनले पार्टीको निर्देशन पालना नगर्ने सदस्यलाई निलम्बन गरिने र निलम्बनपछि पनि अटेर गरे स्थायी रूपमा पार्टीबाट निष्कासन गरिने उल्लेख गरेका छन्।
त्यसपछि अर्को पोस्टमार्फत साम्पाङले निर्देशनविपरीत गतिविधि गर्ने र गुटबन्दीमा संलग्न हुने सबैलाई पार्टीबाट निष्कासन गरिने चेतावनी दिएका छन्। साथै, उनले कुनै पनि नेता वा कार्यकर्ता यस्तो कारबाहीमा नपर्न र अरूलाई पनि नपार्न आग्रह गरेका छन्।
यता, क्युआरटी संयोजक ज्ञानु चाम्लिङसहित विज्ञप्तिमा हस्ताक्षर गर्ने नेता–कार्यकर्ताले आफूहरूसँग कुनै सरसल्लाह वा छलफल नगरी क्युआरटी विघटन गरी सुरक्षा विभाग गठन गर्ने घोषणा गरिएको भन्दै त्यसलाई पार्टी विधानविपरीत र अलोकतान्त्रिक कदम भएको बताएका छन्।
उनीहरूले क्युआरटी विघटन र सुरक्षा विभाग गठनको प्रक्रिया तत्काल नरोकिए आफूहरूले नै क्युआरटी पुनर्गठन गर्ने घोषणा गरेका छन्। साथै, पार्टीभित्र देखिएको विसंगति, स्वेच्छाचारिता तथा विधानविपरीतका गतिविधिको भण्डाफोर गर्दै पार्टी शुद्धीकरण अभियान सञ्चालन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पछिल्लो समय श्रम संस्कृति पार्टीभित्र गुटबन्दी र असन्तुष्टि बढ्दै गएको देखिएको छ। आगामी स्थानीय तह निर्वाचनका लागि मेयर उम्मेदवार छनोटको विषयलाई लिएर पार्टीभित्र विवाद र असन्तुष्टि चुलिएको नेता तथा कार्यकर्ताहरूको भनाइ छ। क्युआरटीभित्रको विवाद र गुटबन्दी यसअघि पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएको थियो।


प्रतिक्रिया