विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजीनामा नदिने अडान कायम राखेपछि तत्कालका लागि उनकै नेतृत्वमा प्रदेश सरकार निरन्तर रहने भएको छ।
बुधबार नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
छलफलमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा तथा प्रदेश सचिव राजकुमार भण्डारी सहभागी थिए।
छलफलपछि अध्यक्ष खतिवडाले भने, “तत्कालका लागि हिक्मतजीले नै सरकारको नेतृत्व गर्नुहुन्छ। उपयुक्त समय आएपछि उहाँले जिम्मेवारी छाड्नुहुनेछ।”
छलफलका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीले आवश्यक ठानेको उपयुक्त समयमा निर्देशन दिएपछि मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेको बताइएको छ।
अध्यक्ष खतिवडाका अनुसार, “अध्यक्षले उपयुक्त वातावरण देख्नुभएको समयमा निर्देशन दिनुहुन्छ। त्यसबेला सबैले पार्टीको निर्णय मान्नुपर्ने, बस्नुपरे बस्ने र छाड्नुपरे छाड्ने निष्कर्षमा पुगेका छौं।”
यससँगै अर्को निर्णय नभएसम्म कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मत कुमार कार्कीकै नेतृत्वमा सञ्चालन हुने स्पष्ट भएको छ।


प्रतिक्रिया