जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीजवान पक्राउ



ओखलढुंगा  । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीजवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।

सप्तरी घर भइ हाल ओखलढुंगाको श्रीचौरमा कार्यरत् प्रहरीजवान यादवमाथि १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप छ ।

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

किशोरीको किटानी जाहेरीका आधारमा प्रहरीजवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

मंगलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरीजवान यादवले जंगलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ ।

यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो ।

प्रहरीले जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छन् ।

महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् ।

यादवले यसअघि जंगलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौनसम्पर्क राखेको खुलेको छ ।

डेढ महिनाअघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।

घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सम्बन्धित समाचार