शिक्षा क्षेत्रको रुपान्तरणका लागि नयाँ नीति र कानुन ल्याउने : प्रचण्ड



काठमाडौं ।  शिक्षा क्षेत्रको रुपान्तरणका लागि नयाँ नीति र कानुन ल्याउने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन्। ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदान गरेपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण दिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिएर उपयुक्त नीति र कानुन ल्याउन आवश्यक भएको बताएका हुन्। उनले सरकारले विज्ञहरूको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र संघीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न खोजेको उल्लेख गरेका थिए। कार्यक्रममा अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानित गरेका थिए। सम्मानित हुनेहरूमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ शिक्षासेवी रत्नमान गुरुङ, ‘इन्स्पिरेशनल अवार्ड’ सांसद् शान्ता चौधरी, ‘एजुकेशन भिजन अवार्ड’ प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, ‘स्कुल अफ दी इयर’ सामुदायिकतर्फ सुर्खेतको जनज्योति मावि र निजीतर्फ बुटवलको न्यू होराइजन माविलाई प्रदान गरिएको थियो। यसैगरी शिक्षा पत्रकारितातर्फ नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला, ‘एक्सिलेन्स अवार्ड’ ग्लोबल केलज एण्ड म्यानेजमेन्ट’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ नवलपरासीको अक्फोर्ड कलेज, ‘प्रिन्सिपल अफ दी एयर’ नाइटिङ्गेल स्कुलका रञ्जना प्रधान, ‘डेडिकेशन अवार्ड’ खगेन्द्र नेपाल र मानबहादुर बुढा, ‘कन्ट्रयुब्युसन अवार्ड’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, ‘क्रियटिभ अवार्ड’ एनसिसिएस कलेज, ‘राइजिङ अवार्ड’ समृद्धि एजुकेशन फाउण्डेशन, ‘बेष्ट टिचर अवार्ड’ हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र २५ हजार रुपैयाँ राशिको चौधरी ग्रुपको ‘वाइवाइ ज्ञान पुरस्कार बुटवलस्थित कालिका मानविज्ञान माविका विद्यार्थी सविना सुवेदीलाई प्रदान गरिएको थियो। शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले यस अवार्डलाई क्रमशः स्थानीय तह हुँदै अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गरी शिक्षामा रुपान्तरण गर्न चाहनेलाई प्रोत्साहन गरिने बताए।
Read more at: http://thahakhabar.com/news/76822?fbclid=IwAR05neyJpO5sLi3dJMNqzYuUY9xIVq_jFlGr-VxI98Q0BWqhfmOuXzYDwJ0

सम्बन्धित समाचार