संखुवासभाः सहयोग संकलन गरेर ब्लड बैंक




सङ्खुवासभा । जिल्लामा ब्लड बैंक नहुँदा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै बैंक स्थापना अभियान सुरु भएको छ । स्थानीय महिलाहरुको संस्था सिर्जनशिल सामुदायिक विकास केन्द्रले जिल्लामा ब्लड बैंक स्थापनाको लागि आर्थिक संकलन अभियान सुरु गरेको हो ।

केही महिनाअघि मनकामना धाममा चिया वेचेर सुरु गरिएको अभियानमा अहिले धमाधम आर्थिक सहयोग संकलन भईरहेको छ । सामुदायिक विकास केन्द्रले आर्थिक संकलनको लागि बैंक खाता खोलेको छ । उक्त खातामा ईच्छुक दाताहरुले सहयोग रकम जम्मा गर्दै आएका छन् । केन्द्रका अध्यक्ष राधादेवी बस्नेतका अनुसार दाताहरुले सहयोग स्वरुप नगद जम्मा गरेको भौचर मात्र समितिले लिदै आएको छ । आर्थिक अनियमिततामा कुनै प्रश्न नआउन् भनेर नगद कारोबार नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।
हालसम्म खातामा ८ लाख भन्दा बढी रकम जम्मा भईसेको विकास केन्द्रका सचिव बबिता कटुवालले जानकारी दिनुभयो । आफुहरुको यो अभियानमा शुभचिन्तकहरुले स्वतस्र्फत रुपमा सहयोग संकलन गर्दै आएको उहाँले जानकारी दिनुभयो । हालसम्म सामान्य जीवन विताईरहेकादेखि ठुला ब्यावसायीहरुले सहयोग रकम खातामा जम्मा गरिरहेको उहाँले जानकारी दिनुभयो । यस कार्यमा आफुहरुले सोचेभन्दा बढी जनसहभागीता पाएको केन्द्रको दावी छ ।

जिल्लामा ब्लड बैंक स्थापना गरि सञ्चालनको लागि ५६ लाख रुपैयाँ संकलन गर्ने आफुहरुको लक्ष्य रहेको विकास केन्द्रका सचिव कटुवालले जानकारी दिनुयभयो । तर, २० देखि २५ लाख रुपैयाँसम्म संकलन भएपछि ब्लड बैंकको स्थापना गरेर सेवा सुचारु गर्ने बताउनुभयो । बैंक स्थापना भएर पनि सहयोग रकम संकलन भने जारी राख्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । बैंकको कार्यालय, कर्मचारी लगायत अन्य ब्यवस्थापनको लागि बाँकी रकम खर्च हुने कटुवालले स्पष्ट पार्नुभयो । सङ्कलन भएको रकम कार्यविधि बनाएर मात्र खर्च गरिने समेत उहाँले जानकारी दिनुभयो । यसरी आर्थिक सहयोग संकलन गरेर स्थापना गरिने ब्लड बैंक नेपाल रेडक्रस सोसाईटी सङ्खुवासभा शाखाको मातहतबाट सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । सचिव कटुवालले गोरखापत्र दैनिकसँग कुरा गर्नुहुदै ब्लड बैंक स्थापना अभियानमा सवैले सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

सङ्खुवासभामा ५० शैयाको अस्पताल भएपनि आवश्यक परेको बेला रगत अभावको कारण निक्कै समस्या झेल्दै आउनु परेको छ । पहुँच तथा सम्पर्क धेरै हुनेले साथीभाई र आफन्तबाट रगत लिएपनि दुर्गम क्षेत्रबाट आउने सामान्य नागरिकहरुको भने अकालमा ज्यान समेत जाने गरेको छ । यसबाट बढिजसो प्रसुती गराउन आउनेहरु प्रभावित बन्दै आएका छन् । तत्काल रगत चाहिएको बेला पहुँच हुनेहरुले सेना वा प्रहरीहरुबाट रगत लिदै आएका छन् । सिर्जनशिल सामुदायिक विकास केन्द्रले सुरु गरेको यो अभियानबाट बैंकको स्थापना हुनसके स्थानीयलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

मकालु अनलाई टिभि हेर्नुहोस ।

सम्बन्धित समाचार