जोगवनीबाट विराटनगरतर्फ ल्याइँदै गरेको ६ सय केजी तरकारी मोरङ प्रहरीले बरामद गरेपछि



विराटनगर । आयातीत तरकारी खरिद गर्ने व्यापारीले पुरानो विषादी परीक्षण गरेको रिपोर्ट देखाएर भारतीय तरकारी नेपाल भित्रने गरेको पाइएको छ। जोगवनीबाट विराटनगरतर्फ ल्याइँदै गरेको ६ सय केजी तरकारी मोरङ प्रहरीले मंगलबार बिहान विराटनगरस्थित विराट आँखा अस्पताल अगाडिबाट बरामद गरेपछि यस्तो रहस्य खुलेको हो।

आयातीत तरकारीको विषादी परीक्षण गर्न झापाको विर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा लग्नु पर्ने झन्झट र विराटनगरदेखि करिब १ सय किलोमिटर टाढा भएका कारणले गर्दा व्यापारीले चलाखी गरेर पुरानो परीक्षण रिपोर्ट देखाएर तरकारी भित्र्याउने गरेका हुन्। व्यापारीले आयातीत तरकारी भित्र्याउन निक्कै चलानी पनि गरेको पाइएको छ।

उनीहरूले दुई साता बढी पुरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्र देखाएर तरकारी भित्र्याउने गरेको खुलेको छ। दुई साता बढी पुरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए। प्रहरीले बरामद गरेको परवल, गोलभेँडा,चटेल र खुर्सानी रहेको छ। बरामद गरिएको तरकारीको साउन ३० गते भन्सार बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउँदै गरेको ठेला चालकसँग भेटिएको छ। प्रहरीको आँखा छल्न व्यापारीको निर्देशनमा ठेलावालाले बिल र बिषादीको प्रमाणपत्र दुई साता पुरानो देखाएर नेपाल तरकारी भित्र्याउने गरेका छन्।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ। बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाण समेत फरकफरक छ। बिलमा काँक्रा, हरियो खोर्सानी उल्लेख नगरिएको भए पनि ती सामग्रीहरू समेत ठेलामा लोड रहेको भेटिएको छ।

ब्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाणपत्र देखाएर पटक पटक तरकारी लगायतका सामग्री ओसार्ने गरिएको बुझिाएको छ। यता विराटनगर भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले आयातित तरकारीको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नपाउने गरेको बताए।

सम्बन्धित समाचार