सङ्खुवासभाः भाईरल ज्वरोको बिरामी बढे




सङ्खुवासभा । पछिल्लो समय सङ्खुवासभामा भाईरल ज्वरोको प्रकोप बढेको छ । भाईरल ज्वरोको बिरामी बढेसँगै अस्पतालहरुमा विरामीको चाप बढेको छ ।
पछिल्लो समय जिल्ला अस्पतालमा आउने विरामीहरु मध्ये अधिकांस भाईरल ज्वरोको विरामी रहेको अस्पतालको तथ्याङ्कमा छ ।

समाचार तयार पार्दासम्म भदौ महिनाको तथ्याङ्क हेर्दा एक हजार सात सय ६४ को परिक्षण गरिएको मध्ये ९ सय ६१ जना भाईरल ज्वरोको बिरामी पाईएको छ । यसरी भाईरल ज्वरोको बिरामीहरु अस्पताल आउने क्रम बढ्दै गएको अस्पताल प्रसासनले जनाएको छ । धेरै विरामीहरु औषधी दिएर पठाउने गरेको भएपनि केही बिरामी बेडमा नै राखेर उपचार गर्नु परेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा मात्र नभएर अन्य स्वास्थ्य संस्थाहरुमा पनि ज्वरोको बिरामी उत्तिकै रहेको स्वास्थ्य संस्थाहरुले जनाएको छ । ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी लाग्ने जस्ता समस्या धेरैमा देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यो समस्या विद्यार्थी उमेर समुहका बालबालिकाहरुमा बढी देखिएको खाँदबारी अस्पतालमा कार्यरत डाक्टर लक्ष्मण खड्काले जानकारी दिनुभयो । विद्यालयमा धेरै बालबालिकाहरुको सम्पर्क हुने र एकबाट अर्कोमा तुरुन्त सरिहाल्ने भएकोले बालबालिकाहरु बढि ग्रसित भएको डाक्टर खड्काले बताउनुभयो । मुख्यगरि ‘राईनो भाईरस’ हावाबाट सर्ने भएकोले नजिकका जो कोहीलाई सजिलै सर्न सक्ने डाक्टर खड्काको भनाई छ ।

यो समयमा सिजनल हावापानीको कारण सधै भाईरल ज्वरोको समस्या आउने गरेको चिकित्सकहरुको भनाई छ । दुसित पानी र धुँवाधुलोको कारण पनि भाईरल ज्वरो आउनसक्ने भएकोले त्यसबाट सुरक्षित रहन चिकित्सकहरुको सुझाव छ । भाईरल ज्वरोबाट बच्न संक्रमित ब्यक्तिबाट टाढै रहनु पर्ने र ब्यक्तिगत सररफाईमा ध्यान दिनु पर्ने डाक्टर लक्ष्मण खड्को भनाई छ । पानीबाट पनि विभिन्न भाईरसहरु सर्नेहुँदा सुद्धिकरण गरेर मात्र प्रयोग गर्नु पर्ने डाक्टर खड्का बताउनुहुन्छ । यस्ता भाईरसले बुढाबुढी र बालबालिकालाई छिटो आक्रमण गर्ने भएकोले उनीहरुको स्वास्थ्यमा ख्याल गर्नु पर्ने सुझाव छ ।

सम्बन्धित समाचार