हँसपुर झडपमा घाइते वृद्धको मृत्यु मेयरलाई कारवाही गर्न पूर्वमन्त्री झाकाे माग



जनकपुरधाम ।  धनुषाको हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भएको झडपमा घाइते वृद्धको मृत्यु भएको छ। गत साउन २१ गते भएको झडपमा घाइते भएर जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका हँसपुर नगरपालिका–२ का ५५ वर्षीय तपेश्वर मण्डलको बुधवार राति मृत्यु भएको हो। हँसपुर नगरपालिकाको केन्द्र अहिले बघचौरामा छ।

तर मेयर रामज्ञान मण्डलले कार्यालय सारेर आफ्नो घर भएको चोक बेल्ही लग्ने प्रयास गरे। रातारात बेल्ही चोकमा कार्यालय उद्घाटन समेत गरे। त्यसको भोलिपल्ट साउन २१ गते बघचौरा कार्यालयबाट सामान सार्न खोज्दा झडप भयो। झडपमा उपमेयर रेणु झासहितका ६ जना घाईते भए।  मेयर मण्डलका सहयोगीहरु प्रहरीको सहयोगमा समान सार्न खोज्दा उपमेयर झाको नेतृत्वमा बघचौराबासीले रोक्न खोज्दा झडप भएको थियो।

मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरु घरेलु हतियार बोकेर कार्यालयको समान सार्न खोज्दा झडप भएको बघचौराबासीको आरोप छ। झडपपछि लगत्तै जिल्ला समन्वय समितिको सभापति रामदेव बनरैत यादव र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंणेलको समन्वयमा बैठक बस्यो। बैठकबाट भएको चार बुँदे सहमतीमा घाईतेको उपचार गर्ने पनि उल्लेख रहेपनि मेयर मण्डलले उपचारमा चासो नदेखाउँदा तपेश्वर मण्डलको मृत्यु भएको नेकपाका स्थानीय नेता दिपेन्द्रकुमार यादबको आरोप लगाए।

उनी भन्छन्, ‘मेयरले सम्झौता बमोजिम तपेश्वरको उपचार गराएको भए पनि उनको मृत्यु हुने थिएन। तर पावरको बलमा उपचारमा चासो देखाएनन्।’ उनले सम्झौता अनुसार उपचार नगराएको र केन्द्र विवादमा दुई गाउँलेबीच लडाएकोले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग समेत राखेका छन्।

सम्बन्धित समाचार