तीज मनाएर घर फर्किने क्रममा एक महिला लुटिए



काठमाडौँ । तीज मनाएर घर फर्किने क्रममा बुधबार एक महिला लुटिएकी छिन् । माइतीबाट तीज मनाएर घर फर्किएकी गुल्मीको रेसुङ्गा नगरपालिका- ५ भुवानपानीकी सीता पौडेलको गरगहन अज्ञात व्यक्तिले लुटेका हुन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका-७ बाट आफ्नो घरतर्फ जाँदै गरेकी सीताको सुनको सिक्री र लकेट गरेर करिब २ तोला सुन र मोबाइल सेट सोहि वडामा पर्ने देउराली बजार नजिकै लुटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकरी दिए ।

उनका अनुसार अपरिचित व्यक्तिले ५० वर्षीय सीतालाई चक्कु देखाएर गरगहना लुटेका हुन् । साँझ पानी परेको समयमा छाता ओढेर हिँडीरहेकी उनलाई एक्कासी धारिलो वस्तु देखाई तर्साएर लुटपाट भएको बताइएको छ ।

पिडित महिलाले हारगुहार गरेपछि स्थानीय र प्रहरीले घटनामा संलग्न भएका व्यक्तिको खोजि गरेपनि हालसम्म पत्ता लाग्न नसकेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

सम्बन्धित समाचार