गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिए



गोरखा । यो सिजनमा गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ समूहले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अहिलेसम्म देशभरका हिमाल आरोहण गर्न कूल २४ टोलीका २३० जना आरोहीले अनुमति लिएकामा मनास्लुका लागि सबैभन्दा धेरै १८ टोलीका १९४ आरोही छन्।

८,१६३ मिटर अग्लो मनास्लु हिमाल गोरखाको चुमनुब्री गाउँपालिका १, साबिक सामागाउँ गाविसमा रहेको छ। विश्वको आठौं अग्लो हिमालको रुपमा परिचित मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।

अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्न कठिन रहेकाले पर्यटकको रोजाइमा परेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए। ‘साहसिक आरोहण गर्न चाहनेको रोजाईमा मनास्लु पर्छ’, उनले भने, ‘आरोहीका अनुसार सगरमाथा भन्दा यो हिमाल चढ्न गाह्रो छ।’

मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार आरोहीहरू प्रायजसो मनाङको भीमथाङ हुँदै लार्केपास गरेर मनास्लु आरोहण गर्न जाने गरेका छन्। कतिपय हेलिकोप्टर चार्टर गरेर सामागाउँसम्म जाने गरेको एमक्यापका प्रमुख लामाले जानकारी दिए। यसबर्ष भने गोरखाको बाटो हुदै आरोही तथा अन्य पर्यटकहरु जाने वातावरण मिलाउन गोरखा उद्योग वाणिज्य संघले पहल गरेको छ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घन्टाको पैदल दुरीमा रहेको छ। आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गरेको लामाले जानकारी दिए।

‘आरोहीहरु आफुलाई वातावारण अनुकुल बनाउँदै जाने हुनाले कोहीले एक हप्तामै आरोहण गर्नुहुन्छ। कोहीलाई एक महिना पनि लाग्न सक्छ’ एमक्याप प्रमुख लामाले भने।

स्थानीय भाषामा ‘पुङ्गेन’ भनिने मनास्लु हिमाललाई पर्यटन क्षेत्रमा किलर माउन्टेनका रुपमा पनि चिनिन्छ। यस हिमालबाट आगामी सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट दुई करोड रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ।

सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए।

केही वर्ष अघिसम्म मनास्लु आरोहण गर्नेमा जापानी नागरिक बढी रहेकोमा पछिल्लो समय चिनियाँ र युरोपियन राष्ट्रका नागरिकको संख्या बढि रहेको एमक्यापले जनाएको छ।

सम्बन्धित समाचार