पहिरोले थुनिएको सभाखोलाले निकास पायो, जोखिम न्युन



सङ्खुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बनेको तालबाट पानीको सतह घट्न थालेको छ । हिजो रातीबाट बनेको पोखरीबाट पानीको सतह घट्न थालेसँगै जोखिम पनि न्युन हुँदै गएको छ ।

सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा केही माथी फाक्सीबुङको पाखो नै बगेर सभाखोलामा थुप्रिएको थियो । यसरी खोला थुनिएपछि करिव तीन सय मिटरभन्दा ठूलो ताल जमेको थियो । सभापोखरी गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर झरेपछि सभाखोला थुनिएको थियो ।

पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ । पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ ।

खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा करिव डेढ सय घर रहेका छन् । सभाखोला थुनिएर बनेको ताल एक्कसी फुटे गाउँ बगाउने सम्भावना छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ ।

सम्बन्धित समाचार