वैदेशिक रोजगारीमा जाने युवाहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था तत्काल लागू नहुने



काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था तत्काल लागू नहुने भएको छ । सरकारले उपत्यकाबाहिर पनि तालिम केन्द्रहरुलाई अनुमति दिएपछि मात्रै यो व्यवस्था लागू हुने भएको हो ।

गत असारबाटै विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सिप जानेकै हुनुपर्ने प्रावधान सरकारले बनाएको थियो । पहिलो पटक तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने भनिएको थियो । तर अहिले वैदेशिक रोजगार विभागले थप १०४ वटा तालिम केन्द्रलाई सूचीकृत गर्न लागेको छ । त्यसका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा विभागले सूची पठाएको छ ।

अब विशेषज्ञसहितको टोलीले ती संस्थाको अनुगमन गरेपछि मात्रै अनुमति प्रदान गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।

‘सम्भवतः असोज पहिलो साताबाट अनुगमन सुरु हुन्छ । योग्यता र पूर्वाधार पुगेका तालिम केन्द्रलाई सूचीकृत गरेपछि हामी विदेश जाँदा सिप अनिवार्य गर्न सुरु गर्छौं,’ उनले भने, ‘मोफसलमा पनि तालिम लिन पूर्वाधार तयार भएपछि कामदारलाई काठमाडौं आउनै पर्ने बाध्यता हुँदैन ।’

विभागले यसअघि सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत गरिसकेको छ । महानिर्देशक भुसालले सुरु भएपछि क्रमैसँग तोकिएका सबै सीपमा आधारित काममा जानेलाई प्रमाणपत्र अनिवार्य गर्दै लैजाने बताए ।

म्यानपावर व्यवसायी यस्तो व्यवस्था तत्कालै गर्न नहुने पक्षमा छन् । व्यवस्था लागू भएपछि सिपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नपाइने भएकाले उनीहरुले यसको विरोध गर्दै आएका छन् ।

सरकारले पहिलो चरणमा हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ÷क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्ट/टेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सिप सिकेको प्रमाणपत्र अनिवार्य गर्न लागेको छ । सुरुआत गरेपछि क्रमसँग अन्य क्षेत्रमा जाने कामदारको हकमा पनि यो नियम लागू गर्दै जाने योजना रहेको महानिर्देशक भुसाल बताउँछन् ।

सम्बन्धित समाचार