प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान



विराटनगर । मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजनाअनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको ।

प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनकाअनुसार कोसी राजमार्ग अन्तर्गत विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी पूर्वको बूढी खोलादेखि उर्लाबारीसम्म ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएर सीसी क्यामेरा जडान गरिएको छ ।

कोसी राजमार्गमा ३२ वटा, तथा पूर्व–पश्चिम राजमार्गमा २६ वटा नयाँ सीसी क्यामेरा सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीबाट सीसी क्यामेराको निगरानी हुने छ । ‘सबै सीसी क्यामेरामा तीन महिनासम्मको स्टोरेज क्षमता छ,’ एसपी अधिकारीले भने, ‘क्यामेरामा कैद भएका भिडियो फुटेज तीन महिनासम्म स्टोरेज हुन्छ ।’

प्रदेश सरकारले जडान गरेको ५८ वटा नयाँसहित मोरङमा हालसम्म सडक र सार्वजनिक स्थलमा जडान भएर सञ्चालनमा ल्याइएका सीसी क्यामेराको संख्या एक सय ५४ पुगेको छ । पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन राखिएको सीसी क्यामेराले ठूलो सहयोग मिल्ने प्रहरी अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचार