एएफसी यू–१६ फुटबल च्याम्पियनसिपमा नेपाली किशोरले कुवेतसँग बराबरी



जोर्डनमा जारी एएफसी यू–१६ फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाली किशोर टिमले बलियो कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको छ। पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो। अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले कुवेतविरुद्ध गोल गरेका थिए। कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल फर्काउँदै टिमको संभावित हार टारे। प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा  भएको थियो। खेलको ७४ औं मिनेटमा राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा अब्दुलवाहबले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाए। बराबरीसँगै समुह एमा रहेको नेपालको १ अंक भएको छ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो। कुवेतले २ खेलमा ३ अंक जोडेको छ। पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो। अब नेपालले तेस्रो खेलमा ३ असोज ताजकिस्तानसँग खेल्नेछ भने अर्को खेलमा ५ असोजमा श्रीलंकासँग प्रतिष्पर्धा गर्ने छ। प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ।
Read more at: https://thahakhabar.com/news/79577?fbclid=IwAR25zQz8FSkrEfDtHnofta5evwhU82XT72Iv86yyHwGeASX61vukXMZFz4A

सम्बन्धित समाचार