भोजपुर नगरपालिका क्षेत्र खुल्ला दिशामुक्त घोषणा



भोजपुर । भोजपुर नगरपालिका क्षेत्रलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्की सहितको सौचालय निर्माण भएसंगै नगरलाई मंगलबार एक कार्यक्रमका बिच खुल्लादिशामुक्त घोषणा गरिएको हो ।

जिल्लाका अन्य ८ ओटा स्थानीय तह यस अघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भएपनि मुख्य बजार रहेको नगरपालिकाको वडा नम्वर –७ मा सौचालय निर्माणमा ढिलाई हुँदा खुल्ला दिशामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडाबासीले सौचालय निर्माण गरेपछि वडासंगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुल्ला दिशामुक्त घोषणा गरेका हुन् ।
नगरक्षेत्र खुल्ला दिशामुक्त घोषणा गरिएसंगै भोजपुर जिल्लालाई यहि असोज ४ गते खुल्ला दिशामुक्त घोषणा गर्ने मितितय गरिएको छ । कार्यक्रमका सहभागीहरुले अथक प्रयासपछि नगरक्षेत्रलाई खुल्ला दिशामुक्त घोषणा गर्न सफल भएको बताउदै, आगमी दिनमा यसको उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने बताएका छन् ।

कार्यक्रम मार्फत खुल्ला दिशामुक्त घोषणा सहयोग गर्ने विभिन्न संघ संस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रमका सहभागीले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । नौ वडा स्थानीय तह मध्ये बजार क्षेत्रभएपनि भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा हुने जिल्लाको अन्तिम स्थानीय तह हो । यस नगरमा १२ वटा वडा रहेका छन् ।

सम्बन्धित समाचार