कांग्रेसद्वारा प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध



विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ताको माग राख्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले उक्त विधेयक फिर्ता गर्नुपर्ने र नगरे बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

मंगलबारको कार्यसूचीमा उक्त विधेयकमाथि प्रदेशसभाको सामाजिक विकास समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

कांग्रेसले प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट नहटाए सदन चल्न नदिने बताएपछि पहिलोपटक २० मिनेटका लागि सदन स्थगित गरिएको थियो ।

त्यसपछि सुरु भएको बैठकमा कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए ।

मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको प्रतिवेदन सोमबार सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो । तर, कांग्रेसले उक्त प्रतिवेदन अहिलेकै अवस्थामा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो ।

उक्त विधेयकमा विश्वविद्यालयको बोर्ड अफ गर्भनर्स लगायतका केही व्यवस्थामा कांग्रेसले असहमति जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिपक्षको भावनालाई पनि समेटेर सहमतिमा विधेयक पारित हुने जानकारी दिए । उनले दुई तिहाईको दम्भ सरकारमा नरहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्न सरकार तयार रहेको बताए ।

सम्बन्धित समाचार