विद्यालय निरीक्षकले शिक्षक नियुक्तीमा घुस खाएको भन्दै २० वटा मुद्दा दायर



काठमाडौं । जगरनाथ गाउँपालिकाका विद्यालय निरीक्षकले शिक्षक नियुक्तीमा ५५ लाख घुस खाएको भन्दै २० वटा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ९५ हजार घुस खाएको आरोपमा विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसियामाथि मुद्दा दायर गरेको हो । उनीविरुद्ध २० वटा मुद्दा हालिएको छ ।

सोमबार १० वटा मुद्दा दायर गरिएको हो । फागुन १ गते १० वटा मुद्दा दायर गरिएको थियो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई विभिन्न २० वटा मुद्दा दायर गरिएको बताए । उनका अनुसार विनी चौरसियालाई आर्थिक लाभ लिएर विना परीक्षा शिक्षकलाई नियुक्त गरेका थिए ।

गाउँपालिका भित्रका विभिन्न विद्यलायमा शिक्षक र बालविकास सहयोगी नियुक्ती गर्दा ५० हजारदेखि साढे ४ लाखसम्म घुस खाएका छन् । चौरसियाले कृपादेवी पटेलसँग ४ लाख, अरविन्द गिरीसँग १ लाख २० हजार, राजेश कुमार यादवसँग २ लाख ५० हजार  धर्मेन्द्रठाकुर हजाम ४ लाख ५० हजार,  शिक्षक दुलारचन प्रसाद कुर्मीसँग ३ लाख घुस लिएका थिए ।

यस्तै रमेश शर्माले ३ लाख ५० हजार, उमाशंकर यादवले ४ लाख, हरिओमकुमार साहले २ लाख ७५ हजार घुस खुवाएका थिए । बालविकास सहयोगी रुवी कुमारी ३ लाख ५० हजार घुस लिएर बालविकासमा नियुक्ती खाएकी हुन् ।

फागुन १ गते चौरसियाविरुद्ध १० वटा मुद्दा हालिएका थियो । यो मुद्दामा चौरसियाले शिक्षक फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साह गोल्दारसँग २ लाख ८० हजार, अब्दुलाह राउतसँग ४ लाख १५ हजार, नगेन्द्र महरा चमारसँग ४ लाख २० हजार, रामवेलास पटेलसँग ३ लाख, जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख र बालविकास सहयोगी उषाकुमारीरामसँग ५० हजार घुस लिएर नियुक्ती दिएका थिए ।

विनी चौरसीयाले उनीहरुसहित वविताकुमारीदेवीलाई आर्थिक लाभ लिएर नक्कली तथा गलत नियुक्ती पत्र दिएर नियुक्त गरेको अख्तियारको दाबी छ । विनी चौरसियासहित नियुक्त लिएका शिक्षक र सहयोग गर्नेहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको मागदाबी गरिएको छ ।

सम्बन्धित समाचार