बर्षाको कारण जिल्ला जोडिने सडक अस्तब्यस्त, दशैमा घर आउनेलाई चिन्ता




सङ्खुवासभा । निरन्तरको बर्षाका कारण सडक अवरुद्ध भएपछि सङ्खुवाभाको जनजीवन कष्टकर बनेको छ । केहि दिनदेखि निरन्तर पानी परेका कारण अन्य जिल्लाबाट सङ्खुवासभा भित्रिने र सङ्खुवासभाबाट अन्य जिल्लाको यात्रामा निस्केको यात्रुहरुले सास्ती बेहेर्नु परेको छ ।

चाडबाडको बेलामा जिल्ला भित्रिने र बाहिरिनेहरुको चाप बढ्ने समयमा लगातार पानी परेपछि यात्रुहरु बाटैमा अलपत्र पर्दै आएका छन् । बिषेस गरि तराईबाट धनकुटा हुँदै सङ्खुवासभा भित्रने उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतको हिले–बसन्तपुर–खाँदबारी सडक र हिले–लेगुवा–तुम्लिंगटार दुईवटै सडकहरु हिलाम्ये भएपछि अहिले सवारी साधन संचालन, यात्रु ओहोर दोहोर र सामग्री ढुवानीमा समस्या भएको हो । दुई सय किलोमिटरको दुरीमा रहेको बिराटनगरबाट करिव ८ घण्टाको यात्रामा आईपुगिने जिल्ला सदरमुकाम खाँदबारी आईपुग्न आहिले कम्तिमा दुई दिन लाग्ने गरेको खाँदबारीका यातायात तथा हार्डवेयर ब्यवसायी नारायण श्रेष्ठ बताउनुहुन्छ । हिउँदको समयमा बिराटनगर बाट १० घण्टामा खाँदबारीमा सामान झार्न सकिएपनि अहिले बिराटनगरबाट लोड गरिएको ट्रिपर खाँदबारी आईपुग्न हप्ता दिन समेत लाग्ने गरेको उहाँको भनाई छ ।

सङ्खुवासभा भित्रने दुई वटा सडक मध्ये केहि सुरक्षित मानिएको तेह्रथुमको बषन्तपुर हुँदै सङ्खुवासभाको चैनपुर, तुम्लिङटार, खाँदबारी, मानेभन्ज्यांग सम्मको सडको हालत पनि उस्तै छ । धनकुटाको सिमानामा पर्ने सङ्खुवासभाको धर्मदेवी नगरपालीका स्थीत मुडे बजारबाट चैनपुरसम्मको सडक खण्डमा दर्जनौं ठाउँमा बर्षादका कारण पहिरो जाँदा सडक अवरुद्ध बन्ने गरेको धर्मदेवी नगरपालीकाका प्रमुख रमेश कुमार जिमिको भनाई छ । अतिबृष्टिका कारण यस बर्ष लामो समयदेखि सडक अवरुद्ध भैरहेको छ । ठाउँ ठाउँमा सडक खुलाउन नगरपालीकाले त्यसक्षेत्रमा डोजरको प्रयोग गरेर हिलो माटो पन्छाउने काम गर्दै आएको नगर प्रमुख जिमीको भनाई छ ।

धनकुटा जिल्लाको हिले, पाख्रिबास, लेगुवा हुँदै अरुण नदीको किनारै किनारबाट खनिएको कच्चि सडक दुई दशक बित्न लाग्दा पनि स्तरबृद्धि हुन सकेको छैन । मर्मत संभार र कालोपत्रे हुन नसक्दा यात्रुहरु ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । करिव १५ बर्ष अघि सङ्खुवासभालाई सहरसंग जोड्ने उदेश्यले खनिएको तुम्लींगटार–लेगुवा सडक खण्डमा पर्ने करिव ६० किलोमिटरको दुरीमा रहेको धनकुटाको पाख्रिबाससम्मको सडक अब्यवस्थीत हुँदा उपचारका लागि रिफर गरिएका बिरामी लैजान समस्या हुनेगरेको जिल्ला अस्पताल खाँदबारीका डाक्टर लक्ष्मण खड्काको भनाई छ । मुख्यगरि गर्भवती, सुत्केरी र बृद्धबृद्धा बढि जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । चुनाव जितेर गएका जनप्रतिनिधीहरु जिम्मेवार नबन्दा सडकको स्तर उन्नति हुन नसकेको स्थानीयले आरोप लगाउन थालेका छन् ।

तुम्लींगटार पाख्रिबास सडक खण्डमा पनि पहिरो र हिलोले सडक दर्जनौं स्थानमा बिग्रिएको छ । साना सवारी साधनहरु मात्र चल्ने गरेको उतm सडक अक्करको भिर हुँदै करिव ८० किलोमिटर दुरीमा रहेको तुम्लिङटारसंग जोडीएको छ । अलिकति चिप्लने बितिmकै बिसाल अरुण नदीमा झर्ने डर भएपनि यात्रागर्नै पर्ने बाधयता छ । यो सडक खण्डमा यात्रा गर्ने क्रममा केही दिन अघि अरुण नदिमा खसेको जीप सहित ६ जना अझै बेपत्ता छन् । यस्तो अस्तब्यस्त सडकमामा यात्रा गर्दा थप घटना निम्तिन सक्ने सम्भावना उत्तिकै छ ।

सम्बन्धित समाचार