प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउने



दमक ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यहि असोज १६ गते गृहजिल्ला झापा आउने भएका छन्। झापा क्षेत्र नम्बर ५ का संघीय संसद सदस्यसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला आउने भएका हुन्।

प्रधानमन्त्रीका सचिवालय सदस्य होम बहादुर थापाका अनुसार आफ्नो निर्वाचन क्षेत्रअन्तगर्त दमक र मोरङको मधुमल्ला जोड्ने मावा पुलको उद्घाटन तथा दमक, कमल र गौरादह समेतको क्षेत्र ओगट्ने प्रस्तावित नेपाल चाइना फ्रेण्डसिप इण्डष्ट्रियल पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम रहेको छ। लगानी बोर्डले औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी स्वीकृत गरिसकेको छ।

पार्कमा ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहने जनाइएको छ। त्यस्तै, उनले दशैंको अवसरमा महानवमीको दिन बर्सेनि आफ्नै आयोजनामा विर्तामोडमा गर्दै आएका शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता दिने पनि बुझिएको छ। प्रधानमन्त्री ओली दमकका महत्वपूर्ण दुई कार्यक्रमका लागि आउने भएपछि स्थानीय पार्टी कमिटीले पनि ती कार्यक्रमलाई सफल बनाउन आन्तरिक तयारी शुरु गरिएको स्थानीय पार्टी नेतृत्वले जनाएको छ।

सम्बन्धित समाचार