संखुवासभामा ल्याएको अधिकांस योजना र बजेट काटियोः पुर्व राज्यमन्त्री (भिडियो सहित)




खाँदबारी । सङ्खुवासभाको विकास योजनाहरु बर्तमान सरकारले कटौटी गरेर विकास विरोधी काम गरेको भन्दै सङ्खुवासभाका पुर्व राज्यमन्त्री तारामान गुरुङ र दीपक खड्काले आपत्ती जनाएका छन् । आज प्रेस युनियन संखुवासभाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँहरुले आपत्ती जनाएका हुन् ।

आफुहरु जिल्लाको सांसद र राज्यमन्त्री भएको बेला भित्राएको विभिन्न योजनाहरु कटौती गरेर सङ्खुवासभालाई ओझेलमा पारेको बताएका हुन् । जिल्लाको लागि केही रणनितिक योजनाहरुलाई आफुहरुले रातो कितावमा राखेको पनि अहिलेको सरकारले हटाईदिएको पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बताउनुभयो । केही योजनाहरुलाई निरन्तरता दिने भएपनि बजेट कटौती गरेर आयोजना नै धारासायी बनाएको गुरुङले आरोप लगाउनु भयो । आफ्नो कार्यकालमा खाँदबारी किमाथाका सडक निर्माणको लागि झण्डै ३ अर्ब बजेट विनियोजन गराएको भएपनि अहिले कुनै काम हुन नसकेको उहाँको गुनासो छ । सङ्खुवासभालाई सवै भुभागसँग जोड्न रिङरोडको अवधारण ल्याएर काम समेत सुरु भईसकेको योजनालाई सरकारले रातो कितावबाट नै हटाएको भन्दै उहाँले आपत्ती समेत जनाउनुभयो । जिल्ला अस्पताललाई १५ बाट पचास सैयाको बनाउने क्रममा पुर्वाधार निर्माणको लागि ६९ करोड रुपैयाँ बजेट बिनियोजन गराएकोमा त्यसलाई घटाएर ३८ करोडमा झारिएको उहाँले बताउनुभयो ।

त्यस्तै पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले पनि आफुहरुले जिल्लामा ल्याईसकेको योजनाहरु अहिलेको सरकारले हटाएकोमा आपत्ती जनाउनुभयो । खानेपानीको क्षेत्रमा जिल्लामा ठुलठुला योजनाहरु ल्याएपनि त्यसको महत्व नै नबुझी योजनाको लिष्टबाट हटाएको उहाँले आरोप लगाउनुभयो । सङ्खुवासभा प्रवेश गर्ने दुई मार्गहरुको लागि आफुहरुकै कार्यकालमा पर्याप्त बजेट छुटाएपनि अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । ‘किमाथांका सडक, टुटेदेउराली–मुडे सडक लगायतको काम हामीले छोडेजत्ति नै छ, अहिलेका हाम्रा सांसदहरुको काम नै देखिएन’, पुर्व राज्यमन्त्री खड्काले भन्नुभयो । आफुहरुको पालामा सुरु गरिएको योजनाहरुलाई देखाएर आफुले गरेको भन्दै हिडेर आफ्नो कार्यकाल पुरा गर्न लागेको समेत खड्काले आरोप लगाउनुभयो ।

अहिलेको सरकारसँग बहुमत भएर पनि जनचाहना विपरित मात्र काम गरेकोले यसको मुल्याङ्कन जनताले आगामी उपनिर्वाचनमा गर्ने समेत पुर्व राज्यमन्त्रीहरुले बताएका छन् । कम्युनिष्टको सरकार आए लगत्तै विभिन्न घटनाहरु हुनु र अहिलेको सरकारले कारबाहिको दायरामा ल्याउन नसक्नुले सरकारका आसोपासेहरु नै घटनामा संलग्न रहेको स्पष्ट भएको उनीहरुले आरोप लगाएका छन् । सुन काण्ड, निर्मला हत्या काण्ड, मेलम्ची खानेपानी आयोजना जस्ता ठुल्ठुला आयोजनामा अहिलेको सरकारसँग जोडिएकाहरुको संलग्नता रहेकै कारण कारबाही गर्न नसकेको पुर्व राज्यमन्त्री खड्काले आरोप लगाउनुभयो । हालै गृहमन्त्रीको सहोदर भाईलाई प्रहरीले पक्राउ गर्नु र लगत्तै छोड्नु यसको ज्वलन्त उदाहरण भएको समेत खड्काको भनाई थियो । यस्तो सरकारबाट अब नेपाली जनताले थप आस गर्ने कुनै विषय नभएकोले यसको विकल्प नेपाली कांग्रेस मात्र भएको खड्काले दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा पार्टीको आन्तरिक द्वन्द्वको बारेमा पत्रकारहरुले प्रश्न गरेका छन् । यस विषयमा बोल्नुहुदै पुर्व राज्यमन्त्री तारामान गुरुङले यस अघि सानातिना मतभेद भएपनि अब त्यस्तो नभएको स्पष्ट पार्नुभयो । लोकतन्त्रमा जो काहीले पनि फरक मत राख्न पाउने र त्यही क्रममा गुट जस्तो देखिएपनि ब्यावहारमा त्यस्तो नरहेको गुरुङले बताउनुभयो । यसको जवाफ आगामी उपनिर्वाचनमा संखुवासभामा आउने मत परिणामले दिने गुरुङले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेस संखुवासभाका सभापती दिपनकुमार श्रेष्ठले दोश्रो चरणको जनजागरण अभियान अत्यन्तै उपलब्धी मुलक ढंगले सम्पन्न भएको बताउनुभयो । जिल्लाको प्रदेश क र ख मा दुई केन्द्रीय प्रतिनिधीहरुको नेतृत्वमा जनजागरण सम्पन्न भएको उहाँले बताउनुभयो । जनजागरण मार्फत तल्लो तहसम्म रहेका कार्यकर्ताहरुलाई सक्रिय र सशक्त बनाईएको उहाँले बताउनुभयो । कार्यक्रम मार्फत अहिलेको कम्युनिष्ट सरकारले गरिरहेको जन भावना विपरितका कामहरुको बारेमा पनि आम नागरिकहरुलाई सुसुचित गराईएको बताउनुभयो । कार्यक्रमको क्रममा सर्वसाधारण नागरिकहरु अहिलेको सरकारको ब्यावहारबाट आजित भएको पाईएको उहाँले बताउनुभयो । समग्रमा दोश्रो चरणको जागरण कार्यक्रम उपलब्धीमुलक रहेको सभापती श्रेष्ठले दावी गर्नुभयो ।

सम्बन्धित समाचार