खाँदबारी बजारमा चहलपहल र खरिद विक्री घट्दो




सङ्खुवासभा । अघिल्लो बर्षको तुलनामा सङ्खुवासभामा यस बर्षको दशै बजारको चहलपहल घटेको छ । बजारमा चहलपहल घटेसँगै कारोबार पनि घटेको ब्यापारीहरुले बताएका छन् ।

दशै आउन दुई हप्ताअघिदेखि नै चहल पहल बढ्ने खाँदबारी बजारमा अहिले भने सुनसान जस्तै बनेको छ । केही बर्षअघिसम्म नै गाउँ गाउँबाट किनबेच गर्नेहरु बजार आउने गरेपनि पछिल्लो समय भने त्यसरी आउन छाडेका छन् । गाउँबाट बजार भर्नेहरु कम आएपछि खाँदबारी बजार सुनसान जस्तै बनेको हो ।

दुई बर्षअघिसम्म नै यत्ति बेला प्रत्येक पसल खचाखच हुने गरेको सम्झदै त्यसको तुलनामा अहिले सुनसान रहेको सङ्खुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं खाँदबारी बजारका ब्यापारी श्यामसुन्दर उदासले बताउनुभयो । ‘यो बेला पसलमा भिड हुन्थ्यो, सामान बेच्नु भ्याई नभ्याई हुन्थ्यो, अहिले त सुनसान जस्तै छ’, उदासले भन्नुभयो । बजारमा मानिसहरुको आवतजावत नै कम भएकोले ब्यापार हुन नसकेको उदासको भनाई छ । केहि बर्षदेखि यता ब्यापार घट्दै आएको आएको उहाँले अनुभव सुनाउनुभयो । दुई बर्षदेखि बर्षेनी बजारमा जनघनत्वसँगै ब्यापार पनि घट्दै आएको उहाँले बताउनुभयो ।

सङ्खुवासभामा ब्यापार घट्दै आएको सङ्खुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज शाक्यले पनि बताउनुभयो । गाउँगाउँमा सडक र सेवा सुविधा पुगेसँगै बजारमा चहलपहल ह्वात्तै घटेको उहाँको भनाई छ । गाउँगाउँमाम आवश्यक सवै सामान पुग्ने र अन्य कार्यालयिय प्रयोजनको लागि पनि सदरमुकाम आउनु नपर्ने भएकोले बजारमा जनघनत्व घटेको उहाँको भनाई छ । यस अघि सामानहरु किनवेचसँगै विभिन्न कार्यालयको कामको लागि पनि सदरमुकाम खाँदबारी आउने हुँदा ब्यापार अधिक हुने गरेको शाक्यले बताउनुभयो ।

खाँदबारीमा ब्यावसाय समेत गर्दै आउनुभएका शाक्यले अहिले ७५ प्रतिशतसम्म ब्यापार घटेको बताउनुभयो । यो समयमा ५० देखि ६० हजार रुपैयाँसम्म दैनिक कारोवार हुने गरेकोमा अहिले पाँच हजारको पनि मुस्किल रहेको उहाँले बताउनुभयो । यो कारोबार दर अघिल्लो बर्ष भन्दा पनि घटेको उहाँले स्पष्ट पार्नुभयो । यहि क्रमले ब्यापार घटे जिल्लाको ब्यापार चिन्ताजनक अवस्थामा पुग्ने अध्यक्ष शाक्यको भनाई छ ।

पछिल्लो समय रुद्राक्ष र अलैंचीको मुल्य नभएकोले पनि कारोबार कम भएको ब्यापारीहरु बताउछन् । केही बर्षअघिसम्म अलैँचीले प्रतिमन (४० केजी) को लाख रुपैयाँसम्म मुल्य पथ्र्यो । त्यस्तै, पाँच मुखे सामान्य रुद्राक्षसमेत विक्रि हन्थ्यो । तर अहिले अलैंची र रुद्राक्ष दुवैको मुल्यमा गिरावट आएपछि पनि ब्यापार घटेको सङ्खुवासभा उद्योग बाणिज्य संघको निश्कर्ष छ । दुवैको मुल्यमा गिरावट आएपछि जिल्लामा नै आर्थिक मन्दि हुँदा यसको प्रत्यक्ष असर ब्यापार ब्यावसायमा परेको सङ्खुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोजकुमार बज्राचार्यको भनाई छ । अब जिल्लाका ब्यापारि ब्यावसायीहरुले ‘ब्यापार पोलिसी’ परिवर्तन गर्नु पर्ने समेत महासचिव बज्राचार्यले बताउनुभयो ।

सम्बन्धित समाचार