उर्जा सचिव घिमिरे गृह जिल्ला संखुवासभामा सम्मानित



सचिव घिमिरेलाई सम्मान गर्नुहुँदै खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा ।

सङ्खुवासभा । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे गृह जिल्ला सङ्खुवासभामा सम्मानित हुनुभएको छ । अरुण तेश्रो अनुगमनको क्रममा गृह जिल्ला सङ्खुवासभा आउनुभएका सचिव घिमिरेलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको हो ।

सचिव घिमिरेलाई अभिनन्दन पत्र, रुद्राक्षको माला र अल्लोको कपडाले सम्मान गरिएको हो । सचिव घिमिरे खाँदबारी नगरपालिका वडा नं. १ मा जन्मनुभएको हो । खाँदबारीमा जन्मनुभएका घिमिरेले सङ्खुवासभा लगायत जिल्लाको विकासमा महत्वपुर्ण योगदान प¥याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो । यसअघि विद्युत विकास विभागमा रहदा देखि नै जिल्लाको विद्युत विकासमा उहाँले ठुलो योगदान पुराउनुभएको नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले बताउनुभयो । आगामी दिनमा पनि जिल्लाको विद्युत विकासमा भुमिका खेल्ने अपेक्षा रहेको समेत खतिवडाले बताउनुभयो ।

सचिव घिमिरे २०५२ सालमा राजपत्रांकित द्वितिय श्रेणीबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । त्यसपछि २०६१ मा उपसचिव, २०६६ मा सहसचिव हुँदै २०७५ मा सचिव हुनुभएको थियो । यस अघि उहाँ लामो समय विद्युत विकास विभागको प्रमुख पदमा कार्यरत हुनुहन्थ्यो । गृह जिल्ला कमै आउनुहुने सचिव घिमिरे राज्य पुर्नसंरचना पछि पहिलो पटक जिल्ला आउनुभएको हो ।

सम्मान प्रति धन्यवाद ज्ञापन गर्नुहुँदै सचिव घिमिरेले सङ्खुवासभा विद्युत उत्पादनको हव बनाउन सकिने बताउनुभयो । जिल्लामा ठुला साना गरि करिव दुई दर्जन जति विद्युत उत्पादन हुने नदिहरु रहेकोले र त्यसबाट विद्युत निकाल्न सके नेपालको आवश्यकता सङ्खुवासभाले मात्र पनि पुरा गर्न सक्ने बताउनुभयो । देशकै ठुलो नदिहरु मध्येको एक अरुण नदिबाट मात्र ३५ मेगावाट भन्दा बढी विद्युत निकाल्न सकिने उहाँले जानकारी दिनुभयो । अहिले अरुण तेश्रो निर्माणको काम भईरहेको र अव लगत्तै अप्पर अरुणको काम पनि सुरु हुने उहाँले जानकारी दिनुभयो । ‘नेपालको पानी जनताको लगानी’ योजनामा अप्पर अरुण पनि राखिएकोले जिल्लावासीहरु लगानी गर्न तयार भएर बस्न समेत उहाँले आग्रह गर्नुभयो ।

सङ्खुवासभामा दश स्थानीय तहहरु मध्ये तीनमा विद्युतको केन्दी्रय प्रसारण लाईन पुगेको छैन । उक्त स्थानीय तहहरुमा बढीमा दुई बर्ष भित्र केन्द्रीय प्रसारण लाईन पुराउने योजना रहेको सचिव घिमिरेले बताउनुभयो । त्यसको लागि जिल्लाका सांसदहरु र सरोकारवालाहरुसँग कुरा भईरहेको उहाँले बताउनुभयो । विद्युतको क्षेत्रमा जिल्लामा खर्च गर्न सकिने जत्ति बजेटको ब्यवस्था गर्ने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार