बेलबारी गोल्डकपको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीलाई



मोरङ । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकालेको उसले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । घरेलु मैदानमा निराश बनेर उपविजेतामा खुम्चिएको धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

सेमिफाइनलमा मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई पराजित गरेर धरान र एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनल पुगेका टिम हुन् । मध्यान्तर अघिसम्म समान प्रदर्शन गरे पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो रहयो । खेलाडीबीच आपसी तालमेल मिल्न नसक्दा र फिनिसिङ कमजोर हुँदा धरान उपाधिविहीन बन्यो । स्ट्राईकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

खेलमा धरानमाथि हावी देखिएको सिलिगुडीले सुरुवाती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए । पहिलो हाफ १–० को अवस्थामा सकियो । ५७ औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो । रक्षापंक्तीका मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई विट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।

सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो । सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए । कैलास बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि वित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका हुन् ।

सम्बन्धित समाचार