अरुण नदिबाट मात्र तीन हजार मेगावाट भन्दा बढी विद्युत




सङ्खुवासभा । विद्युतको लागि उर्बर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदिबाट मात्र तीन हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने भएको छ । अरुण नदिमा ५ वटा विद्युत आयोजना रहेको र त्यसबाट ३ हजार ३ सय ९५ मेगावाटको विद्युत उत्पादन हुने देखिएको हो ।

पाँच वटा ठुला आयोजनाहरु मध्ये अहिले ९ सय मेगावाटको अरुण तेश्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाहरुको अध्ययन भईसकेको छ । एक हजार ६१ मेगावाटको अप्पर अरुण, ६ सय मेगावाटको लोवर अरुण, ४ सय ३४ मेगावाटको किमाथांका अरुण र ४ सय मेगावाटको अरुण ४ को अध्ययन भईसकेको विद्युत विकास विभागले जनाएको छ ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा समेत समावेश गरिएको अप्पर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको विचमा निर्माण हुने भनिएको छ । यस आयोजनाको सम्पुर्ण अध्ययन पुरा भईसकेको विद्युत विकास विभागलाई उदृद्ध गर्दै उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही बर्ष भित्र नै सुरु हुने समेत उहाँले बताउनुभयो ।

६ सय मेगावाटको लोवर अरुणको पनि अध्ययन सकिएको बताईएको छ । यो परियोजना खाँदबारी नगरपालिकाको हेलुवाबेशी र चेवाबेशी क्षेत्र भित्र निर्माण हुने बताईएको छ । हाललाई ६ सय मेगावाट विद्युत उत्पादन हुन सक्ने भनिएपनि यसलाई ‘अपग्रेड’ गरेर अझ बढी विद्युत उत्पादन गर्न सकिने विज्ञहरुले बताउने गरेका छन् । भोटखोला गाउँपालिकाकै छुम्सुर र आसपासमा निर्माण गर्ने भनिएको ४ सय ३४ मेगावाटको पनि अध्ययन भईसकेको विद्युत विकास विभागका सुचना अधिकारी निशा रिजालले जानकारी दिनुभयो । भोटखोलाकै अर्को ४ सय मेघावाटको अरुण ४ परियोजनाको पनि अध्ययन भईसकेको उहाँले जानकारी दिनुभयो ।

अध्ययन भईसकेका आयोजनाहरुको लागि विद्युत विकासकर्ता खोज्ने क्रममा रहेको विद्युत विकास विभागले जनाएको छ । विकासकर्ताले विद्युत उत्पादनको जिम्मा लिएपछि आफैले पनि पुनः अध्ययन गर्न सक्ने विद्युतका जानकार खाँदबारी ८ का जीवनाथ खनालको भनाई छ । यस अर्थमा उल्लेखित विद्युत क्षमताहरु केही घटबढ हुनसक्ने देखिएको छ । यद्धपी, अरुण नदिको पाँच विद्युत आयोजनाबाट मात्र ३ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने देखिएको छ ।

https://www.youtube.com/watch?v=tny3dcgqpAI&t=83s

 

सम्बन्धित समाचार