सिलिचोङः सवारी साधन ठप्प, दैनिक उपभोग्य सामानको अभाव




ताम्कु । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुसम्म हिउँदको समयमा सवारी साधन चलेपनि बर्षा लागेपछि ठप्प हुन्छ । गत जेठदेखि ठप्प भएको यातायात अहिलेसम्म नचल्दा गाउँपालिकाको केन्द्र ताम्कुमा उपभोग्य सामग्रीहरुको अभाव बढेको छ ।

लामो समयसम्म ढुवानीको सेवा नहुँदा खाद्यन्न लगायतको दैनिक उपभोग्य सामग्रीहरुको अभाव बढेको हो । त्यस क्षेत्रमा मुख्य गरि चामल, नुन, तेल लगायतका सामग्रीहरुको अभाव बढेको स्थानीयवासीको भनाई । उक्त खाद्य सामग्रीहरु बजारसम्म आउने उपभोक्ताहरु रित्तो फर्किनु परेको सिलिचोङ ३ ताम्कुका स्थानीय उमेश चाम्लिङको भनाई छ । ‘ढोको, ढाकर, नाम्लो बोकेर आउछन् बजारमा केही नभएपछि त्यसै फर्किन्छन्’, चाम्लिङले भन्नुभयो ।

सिलिचोङको लागि खाँदबारीबाट हेलुवाबेँशी हुदै सामग्री लैजाने गरिन्छ । अहिले खाँदबारीबाट चन्दनपुरसम्म मात्र सवारी साधन जाने गरेकोले हेलुवा बेशीमा समेत पर्याप्त सामग्री नभएको स्थानीय ब्यापारिहरु बताउछन् । अहिले बुम्लिङबाट ताम्कुसम्मको सडक सञ्चालनमा नरहेकोले सामान ढुवानी गर्न समस्या भएको ब्यापारिहरु बताउछन् । एक बर्षअघिदेखि त्यस क्षेत्रमा ट्याक्सी र ट्याक्टर सञ्चालनमा आएपछि खच्चडहरु विस्थापित भएको स्थानीय ब्यावसायीहरुको भनाई छ । अहिले खच्चड समेत नभएपछि ढुवानीमा समस्या भएको स्थानीय ब्यापारी ताराकुमार तामाङको भनाई छ ।

यस बर्ष उक्त सडक मर्मतको शिर्षकमा गाउँपालिकाले दश लाख रुपैयाँ विनियोजन गरेको छ । तर अहिलेसम्म पनि मर्मतको काम भने हुन सकेको छैन । दशै अघि नै सडक मर्मत गरे चाडपर्वको बेला खाद्यन्न आपुर्तीमा सहजताको साथै आवतजावतमा स्थानीयले सुविधा पाउने थिए ।

सम्बन्धित समाचार