महिला च्याम्पियन्स लिग आज उद्घाटन



काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिता बुधबार देखि सुरु हुँदैछ ।क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको महिला च्याम्पियन्स लिग बुधबारदेखि टियु क्रिकेट मैदानमा सुुरु हुन लागेको हो । बुधबार हुने उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार क्वीन्सले काठमाडौंमा ट्रफि सार्वजनिक गरेको छ । क्याट क्वीन्स काठमाडौंको मार्की खेलाडी रुविना क्षेत्री, ललितपुर फाल्कोन्सकी नेरी थापा, पोखरा पल्टनकी सीता रानामगर, चितवन राइनोजकी इन्दु बर्मा र विराटनगर टाइटन्सकी सरिता मगरले ट्रफि संयुक्त रुपमा सार्वजनिक गरे ।

बुधबार ११ बजे उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यता, फ्रेन्चाइज क्लबहरुले पनि आ–आफ्नो तयारी राम्रो भएको कारण लक्ष्य उपाधिकै भएको दाबी गरे ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान समेत रहेकी काठमाडौंकी मार्की खेलाडी रुविना क्षेत्रीले पहिलो पटक यति ठूलो प्रतियोगिता अयोजना हुदा आफू निकै खुशी रहेको बताउँदै सबैलाई धन्यवाद दिइन् । उनले भनिन् ‘यो हाम्रो लागि ठूलो अवसर हो । हामी राम्रो गर्ने प्रयास गर्नेछौं । टिमको तयारी राम्रो भएको छ ।’

स्तै, पोखरा पल्टनकी सीता रानामगरले महिला क्रिकेटकै करिअरमा पहिलो पटक लिग हुन लागेकाले आफू निकै उत्साहित भएको बताइन् । ‘क्रिकेट करिअरको १२ वर्ष पछि एउटा फ्रेन्चाइज लिग सुरु हुन लागेको छ,’ उनले भनिन्, ‘यो हाम्रो लागि ठूलो अवसर हो । पोखरा अन्डर डग हो । हाम्रो लक्ष्य उपाधि नै हो ।’

त्यस्तै, कार्यक्रममा चितवनकी इन्दु बर्मा र विराटनगरकी सरिता मगर र ललितपुरकी नेरी थापाले पनि आफ्नो टिमको लक्ष्य उपाधि जित्ने भएको दाबी गरे ।

सर्वाधिक धनराशिको महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले सात लाख नगदसहित ट्रफि हात पार्ने छ । त्यस्तै, उपविजेताले तीन लाख नगद पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार नगद हात पार्ने छन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै, प्रत्येक खेलको ओमन अफ दि म्याच घोषित हुने खेलाडीले नगद पाँच हजार पाउने छन् ।

सम्बन्धित समाचार