संखुवासभाः पाँच किलो सुन सहित पक्राउ परेका भोटे सार्वजनिक (भिडियो सहित)



खाँदबारी । प्रहरीले सङ्खुवासभाका भोटखोलामा ५ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २६ बर्षिय तोप्चेन भोटेलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

मकालु ४ स्थायी घर भई खाँदबारी १ बस्दै आएका भोटेलाई भोटखोला गाउँपालिका २ घट्टेखोलामा प्रहरीले गत सोमबार पक्राउ गरेको हो । भोटेको साथबाट पाँच टिल सुन बरामद् गरिएको थियो । प्रत्येक टिलमा हजार ग्राम रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाले जानकारी दिनुभयो । भोटेलाई विशेष सुराकीको सहयोगमा सुन सहित पक्राउ गरिएको डिएस्पी लामाले बताउनुभयो । थप अनुसन्धानको लागि भोटेलाई राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाईने लामाको भनाई छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा यस अघिदेखि नै किमाथाङ्का नाका हुँदै अबैध सुन लगायतका सामानहरु भित्रिने गरेको लामाको भनाई छ । आफु जिल्ला आए लगत्तै सरोकारवालाहरुसँगको अन्तरकृयाको क्रममा त्यस्तो जानकारी पाएकोले सोही बमोजिम अनुसन्धान गर्दा यस पटक भोटे पक्राउ परेको डिएस्पी लामाले दावी गर्नुभयो । उनीहरु संगठित अपराधमा संलग्न रहेको समेत खुल्न आएको लामाले जानकारी दिनुभयो । पक्राउ परेका भोटे भरियाको रुपमा मात्रै काम गरेको र उनी जस्तै अरु पनि अबैध सामान ओसारपोसारमा संलग्न रहेको खुल्न आएको उहाँको भनाई छ ।

भरियाको रुपमा काम गर्ने ब्यक्तिले निश्चित पोईन्टमा पुराउने र त्यहाँबाट अर्कै ब्यक्तिले अर्को ठाउँ पराउने गरेको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । डिएस्पी लामाका अनुसार पक्राउ परेको भोटेले चिनको सिमा क्षेत्र रिदाकबाट भोटखोला गाउँपालिकाको गोलासम्म ल्याउने जिम्मा लिएका थिए । यसरी ल्याउने क्रममा उनी पक्राउ परेका हुन् । भोटेको समुहमा संलग्न अन्य ब्यक्तिहरुको पनि खोजी भईरहेको डिएस्पी लामाले जानकारी दिनुभयो । यद्धपी, बाँकी अनुसन्धान राजश्व अनुसन्धान विभागले गर्ने र अनुसन्धानको लागि सम्पुर्ण सहयोग गर्ने लामाको भनाई छ ।

पक्राउ परेका भोटेलाई तीन दिन लगाएर जिल्ला प्रहरी कार्यालय ल्याईपुराईएको थियो । बरामद गरिएको सुन बुधबार नै परिक्षण गरेपछि प्रहरीले सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार