विश्व कप फुटबलको छनोट खेलमा नेपालले तेस्रो हार



काठमाडौं ।कतारमा सन् २०२२ मा आयोजना हुने विश्व कप फुटबलको छनोट खेलमा नेपालले तेस्रो हार भोगेको छ। एसियाली क्षेत्रअन्तर्गत दोस्रो चरणको मंगलबार राति खेलिएको छनोट खेलमा नेपाली टोली जोर्डनसँग उसैको मैदानमा ३—० गोलले पराजित भयो। हालसम्म चार खेल खेलेको नेपाली टोलीले एक खेलमात्र जित्न सकेको छ।

अस्ट्रेलियासँग उसैको मैदानमा ५—० गोलले पराजित भएको एक साता पनि बित्न नपाउँदै नेपालले जोर्डनसँग अर्को हार भोगेको हो। पहिलो हाफमा आफूभन्दा बलियो जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोलीले दोस्रो हाफमा लय गुमाउँदा लगातार तीन गोल खाएको थियो।

राजधानी अम्मानस्थित अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको उक्त खेलको ५६औं मिनेटमा घरेलु टोलजोर्डनका लागि फेरस सेलबिहले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। ७८औं मिनेटमा अहमद अल एर्सनले जोर्डनको अग्रता दोब्बर बनाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि बाह फैसलले जोर्डनका लागि तेस्रो गोल थपेका थिए।

समूह ‘बी’कै अर्को खेलमा पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलियाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी चाइनिज ताइपेईलाई उसैको मैदानमा ७—१ गोलले हरायो। नेपाली टोलीले दोस्रो चरणको विश्वकप छनोटमा हालसम्म चारवटै खेल ‘अवे’ मैदानमा खेलेको हो। अब नेपालले चारवटै प्रतिद्वन्द्वीसँग घरेलु मैदानमा एक÷एक खेल खेल्न बाँकी छ।

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा हालसम्म १५ गोल खाइसकेको छ भने दुई गोल मात्र गर्न सकेको छ। आफ्नो समूहमा सबैभन्दा बढी गोल खाने टोली पनि नेपाल नै हो। नेपाली टोली पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७—० गोलले पराजित भएको थियो। नेपाली टोलीले आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २—० गोलले हराएको थियो। तेस्रो खेलमा नेपाली टोली अस्ट्रेलियासँग उसैको मैदानमा ५—० गोलले पराजित भएको थियो।

सम्बन्धित समाचार