अवैध सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई काठमाडौं पठाइयो



खाँदबारी । भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम अवैध सुनसहित पक्राउ परेका तोप्चेन भोटेलाई आज ललितपुर पठाइएको छ । भोटेलाई थप अनुसन्धानको लागि सुनसहित राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाईएको हो ।

अभियुक्त पक्राउ परेको २४ घण्टा भित्र सम्बन्धीत निकायमा बुझाउनु पर्ने प्रावधान भएको कारण आज भोटेलाई जहाजबाट ललितपुर पठाईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाले जानकारी दिनुभयो । भोटेलाई यति एयरलायन्सको जहाजबाट पठाईएको र राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाईसकिएको उहाँले जानकारी दिनुभयो ।

भोटेले आफू ओसारपसार गर्ने भरिया मात्र भएको प्रहरीलाई बयान दिएका छन्। भोटेको साथबाट फेला परेको अवैध सुन कसको हो भन्न खुलेको छैन। सुराकीको आधारमा चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झोलामा पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान सुन गत सोमबार विहान फेला पारेको थियो। भोटेका साथबाट बरामद गरिएको सुनको बजार मूल्य करिव तीन करोड सात हजार पर्ने सुन चाँदी ब्यवसायीले बताएको छ ।

संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो।

सम्बन्धित समाचार