मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने



इलाम । दशैँपछि मौसम खुलेसँगै । अन्तुमा पर्यटकको आवत जावत बढेर गएको छ । सुर्योदय नगरपालिकामा रहेको श्रीअन्तुको मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेर गएको हो ।

पछिल्लोपटक भने सङ्घीय सरकारले पर्यटनको नयाँ एक सय गन्तव्य सूचीमा कन्याम–फिक्कल–अन्तु सर्किटलाई पनि समेटेको छ । यसपछि भने अन्तुप्रति पर्यटकको थप आकर्षण बढ्न थालेको बताइएको छ  ।

बिहान झिसमिसेमै सूर्योदयको दृश्यावलोकन, अन्तु पोखरीमा डुङ्गा सयर, ‘होमस्टे’को खाना र बेलुकाको जातीय खानासँगै पारिवारिक वातावरणको बसोबास लगायत अन्तु घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षण हुन् ।

अन्तुको मुख्य विशेषता भनेको नै स्थानीय उत्पादनको परिकार खान पाउनु र लोपोन्मुख लाप्चा समुदायको भाषा सस्कार संस्कृतिसँग नजिक रहनु हो । यसका साथै नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघि नियाल्न पाउनु समेतलाई मानिन्छ ।

यसैमा रमाउनको लागि दैनिक सात हजार भन्दा बढीको संख्यामा पर्यटक अन्तु पुग्ने गरेका छन् । यो संख्या विगत भन्दा २० प्रतिशतले बढी भएको अन्तु डाँडा सामुदायिक होमस्टे सञ्चालक समिति तथा अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार