सङ्खुवासभा: गाउँ बस्तिको पहुँचमा पुगेन स्वास्थ्य बिमा




सङ्खुवासभा । सङ्खुवासभामा गत भदौ १ बाट स्वास्थ्य विमा लागु भयो । विमाको ब्यग्र प्रतिक्षा गरिरहेको आठ हजार बढी स्थानीयले असार मसान्त भित्र नै विमा गरिसकेका थिए । थोरै रकम तिरेर लाख रुपैयाँ भन्दा बढीको उपचार पाउने भएपछि मख्ख परेका स्थानीयले सोचे जस्तो सजिलो तरिकाले सेवा पाउन सकेका छैनन् ।

डाक्टरको दरवन्दी भएको स्वास्थ्य संस्थाहरुलाई विमाले सेवा केन्द्र तोकेको भएपनि अहिले जिल्ला अस्पताल बाहेकका अन्य स्वास्थ्य संस्थाबाट विमाको सेवा दिन सकिएको छैन । हाल सङ्खुवासभामा चार वटा डाक्टरको दरबन्दी सहितको प्राथमिक स्वास्थ्य केन्द्रहरु छन् । उक्त केन्द्रहरुलाई पनि पनि स्वास्थ्य विमाको सेवा केन्द्र तोकेको भएपनि सेवा सुरु गर्न सकिएको छैन । प्राविधिक जनशक्तिको अभाव, भौतिक ब्यवस्थापनको समस्या, ईन्टरनेटमा समस्या लगायतको कारण स्वास्थ्य केन्द्रहरुमा विमा सुविधा दिन सकिएको छैन ।

गाउँ तहमा भएको स्वास्थ्य संस्थाबाट सेवा नपाएपछि निशुल्क सेवा लिन जिल्ला अस्पताल नै धाउनु परेको छ । तुलनात्मक रुपमा नजिककाहरु जिल्ला अस्पताल आएपनि दुरदराज गाउँका नागरिकहरुले भने पहिलेकै जस्तो स्वास्थ्य परिक्षण र औषधिको रकम तिर्न बाध्य छन् । बढजसो विमा गरेका जेष्ठ नागरिकहरु टाढाको बाटो हिडेर सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पताल पुग्न नसक्ने भएपछि पहिले जस्तै पैसा तिरेर उपचार गराईरहेका छन् । जेष्ठ नागरिकहरुलाई निशुल्क विमा गराईएको भएपनि सेवा पाउँदा बिमा गर्नु र नगर्नु उस्तै भएको मकालु गाउँपालिकाका तीर्थबहादुर राईले बताउनुभयो ।

चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पुर्वाधारको कमीको कारण अहिलेसम्म विमा लागु गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले बताउनुभयो । अव जतिसक्दो छिटो विमाको कार्यन्वयनको लागि काम भईरहेकोले अब केही महिना भित्रमा नै विमाको सेवा दिन सकिने श्रेष्ठको भनाई छ । जिल्लाको मकालु गाउँपालिकामा रहेको नुम प्राथमिक स्वास्थ्य केन्द्रमा ईन्टरनेटको समस्याको कारण सेवा सुचारु गर्न नसकिएको बताईएको छ । त्यस्तै, पाँचखपन नगरपालिकामा रहेको वाना प्राथमिक स्वास्थ्य केन्द्रमा कर्मचारीको अभावका कारण स्वास्थ्य बिमा लागु गर्न नसकिएको नगरप्रमुख विपिन राईले जानकारी दिनुभयो । सेवा प्रबाहको तयारी तिब्र रुपमा हुदै गरेको बताउदै करिव एक महिना पछि सेवा सुचारु गर्न सकिने नगर प्रमुख राईको भनाई छ ।

उता जिल्लाकै दुर्गम मानिएको सिलिचोङ गाउँपालिकाको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सेवा सुचारु भएको छैन । ईन्टरनेटको समस्याको कारण सेवा प्रबाहमा समस्या भएको स्वास्थ्य संयोजक दिपेश कुलुङले जानकारी दिनुभयो । पछिल्लो समय भने ईन्टरनेटको ब्यवस्था गरिएकोले अव सेवा प्रबाहको चरणमा आईपुगेको उहाँले बताउनुभयो । अहिले स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर घर विदामा रहेकोले सेवा सुचारु हुन नसकेको संयोजक कुलुङले जानकारी दिनुभयो । उहाँका अनुसार तिहार लगत्तै डाक्टर आएपछि ताम्कु प्राथमि स्वास्थ्य केन्द्रबाट विमाको सेवा प्रदान गरिनेछ ।

सङ्खुवासभामा पहिलो त्रैमासिक (बैशाख १ देखि असार मसान्तसम्म) भित्र मात्र आठ हजार बढी १ सय ८१ जनाले विमा गरेका छन् । दोश्रो त्रैमासिकमा विमा गर्नेहरुको लगत संकलन भईरहेको विमा दर्ता अधिकारी मञ्जु लामाले जानकारी दिनुभयो । दौश्रो त्रैमासिकमा विमा गर्नेहरुको संख्या दोब्बर हुने अनुमान गरिएको लामाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार