सङ्खुवासभामा चुनावी सरगर्मी बढ्यो, चुनाव जित्ने आ–आफ्नो दावी




सङ्खुवासभा । उपनिर्वाचन नजिकिएसँगै सङ्खुवासभामा चुनावी सरगर्मी बढेको छ । आसन्न निर्वाचनमा जित आफ्नो पक्षमा पार्न नेता कार्यकर्ताहरु गाउँघर दौडाहमा सक्रिय छन् ।

विशेष गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु निर्वाचन हुने क्षेत्रमा सक्रिय हुन थालेका हुन् । निर्वाचन नजिकिएसँगै राजनितिक दलका नेताहरु गाउँघरका कार्यकर्ता भेटघाट, बैठक र भेलाहरुमा ब्यस्त हुन थालेका छन् । नेपाली कांग्रेसले उपनिर्वाचनलाई नै लक्षित गरेर दुई चरणको जागरण अभियान सम्पन्न गरिसकेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पनि निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय निर्वाचन क्षेत्रका स्थानीय नेता कार्यकर्ताहरुलाई सक्रिय बनाईएको नेकपा सङ्खुवासभाका अध्यक्ष हेमराज घिमिरेको भनाई छ । आगामी निर्वाचनको लागि कार्यकर्ताहरुलाई प्रशिक्षण समेत गराईएको उहाँले बताउनुभयो । हाल राजनितिक दलका नेतृत्वपंती उपयुक्त उमेद्वार छनौटको तयारीमा लागेका छन् भने उमेद्वार बन्न चाहनेहरुले आफु निकटहरुलाई दौडधुप गर्न थालेका छन् । बढि महत्वका साथ हेरिएको मकालु गाउँपालिकाको अध्यक्ष पदको लागि यो समाचार तयार पार्दासम्म नेकपाबाट ७ जनाले उमेद्वारको दावी गरेको नेकपा सङ्खुवासभाका सचिव भरत जिमीले जानकारी दिनुभयो । त्यस्तै नेपाली कांग्रेसमा भने ४ जनाले दावी गर्दै आएको नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपन कुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा धेरैले अपेक्षा गर्नु स्वभाविक रहेको भएपनि सर्वसम्मत ढंगबाट उमेदवार उठाईने पार्टी प्रमुखहरुको दावी छ ।

सङ्खुवासभामा एक गाउँपालिका र एक वडामा उपनिर्वाचन हुन लागेको हो । २०७४ पुष ३० गते गाउँमै सवारी दुर्घटनामा परेर तत्कालिन अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि अध्यक्षको पद रिक्त भएको थियो । त्यस्तै खाँदबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष तायोनाथ ढुंगानाको पनि एक बर्षअघि हृदयघातको कारण मृत्यु भएको थियो । यसरी रिक्त रहेको पदहरुमा निर्वाचन हुन लागेको हो ।

आसन्न निर्वाचनमा जिल्लाका दुवै दलहरुले आफ्नो पार्टीको जीत हुने दावी गर्दै आएका छन् । नेपाली कांग्रेसको राम्रो प्रभाव मानिएको मकालु गाउँपालिकामा अघिल्लो निर्वाचनमा बाघी उमेद्वारी दिईएको थियो । कांग्रेस भित्रकै दुई उमेदवारहरु निर्वाचनमा उत्रिएपछि कांग्रेसले हार ब्यहोर्नु परेको र अहिलेको चुनावमा सर्वसम्मत रुपमा उमेदवार आउने भएकोले कांग्रेसको जित हुने जिल्ला सभापति दीपनकुमार श्रेष्ठले दावी गर्नुभयो ।

त्यस्तै, यस पटकको निर्वाचनमा दुई ठुला कम्युनिष्ट पार्टीहरु विचको एकताको कारण पनि नेकपाले सहजै निर्वाचन जित्ने नेकपा सङ्खुवासभाको दावी छ । अहिले उमेद्वारको ईच्छा राख्नेहरुको संख्या पनि धेरै रहेको र ति मध्येबाट सर्वसम्मत रुपमा उमेदवार ल्याउने तयारी भईरहेको नेकपा सङ्खुवासभाका सचिव भरत जिमीले जानकारी दिनुभयो । रिक्त रहेको दुवै पदहरुमा आफ्नो उमेद्वार जिताउन सवै नेता र कार्यकर्ताहरु तयार रहेको जिमीको भनाई छ ।

यसै विच, जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकारीहरु तोकेको छ । निर्वाचन कार्यालयले मकालु गाउँपालिका र खाँदबारी ३ को निर्वाचनको लागि निर्वाचन अधिकृतहरु तोकेको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीस शान्तिप्रसाद आचार्यलाई जिम्मेवारी दिईएको छ । आचार्यले नै मकालु गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी समेत बहन गर्नुहुने छ । खाँदबारी नगरपालिका वडा नम्बर ३ को लागि भने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तिलक बहादुर कार्कीलाई जिम्मेवारी दिएको छ । निर्वाचन क्षेत्रमा तिहार लगत्तै निर्वाचन कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार